न्युजिल्याण्डमा मानिसको संख्या भन्दा भेडाको संख्या ५ गुणा बढी रहेको छ । भेडा पालन न्यूजील्याण्डमा एक महत्वपूर्ण व्यवसाय हो ।
हाल न्युजिल्याण्डमा भेडाको संख्या २ करोड ५० लाखको आसपासमा रहेको छ । यो तथ्याङक सन् २०२२ को भएता पनि अहिले न्युजिल्याण्डमा मानिसको संख्या भन्दा ५ गुणा बढी भेडाको संख्या रहेको छ । यो संख्या भने पछिल्लो केही वर्ष भन्दा थोरै हो । सन् २०११ देखिको विवरण हेर्ने हुँदा न्युजिल्याण्डमा भेडाको संख्या घट्दो क्रममा रहेको छ । सन् २०११ देखि सन् २०१५ सम्म ३ करोडको संख्यामा न्युजिल्याण्डमा भेडापालन गरिन्थ्यो । सन् २०१६ यता भने २ करोड ७० लाख देखि २ करोड ५० लाख सम्म भेडाको संख्या रहेको छ ।
ईतिहासलाई हेर्ने हो भने माथिको संख्या त केही होइन । सन् १९८२ मा न्युजिल्याण्डमा भेडाको संख्या ७ करोडको हाराहारीमा रहेको थियो । सन् १७७३ र सन् १७७७ को बिचमा बेलायती अन्वेषक जेम्स कुकले न्युजिल्याण्डमा भेडाहरू ल्याएका थिए । त्यो बेला थोरै संख्यामा भेडा ल्याईएको थियो । तर न्युजिल्याण्डको हावापानी र यहाँको वातावरण भेडा पालनको लागि उत्तम सावित भयो । त्यस्पछि सन् १८५६ देखि १९८७ को बिचमा न्युजिल्याण्डमा अत्याधिक भेडा पालन सुरु भयो जस्ले गर्दा देशलाई आर्थिक समृद्धि मिलेको थियो ।
न्युजिल्याण्डमा हाल २० प्रजातीका भेडा पालन हुने गदछन् । देशभर १५ हजार बढी भेडा पालन गर्ने व्यवसाय संचालनमा रहेका छन् । हाल न्युजिल्याण्ड विश्वमा भेडाको मासु उत्पादन गर्ने तेस्रो ठुलो देशमा पर्ने गर्दछ । त्यस्तै भेडाको उन उत्पादन गर्ने देशहरुमा न्युजिल्याण्ड चौथो नम्बरमा रहेको छ ।