न्युजिल्याण्डमा नेपाली समुदायको संख्या बढ्दो क्रममा रहेको छ । केही वर्ष अगाडि ७-८ हजार हाराहारीमा रहेका नेपालीहरुको संख्या अहिले बढेर २० हजार बढि पुगेको छ । न्युजिल्याण्ड देश सानो छ तर यहाँको हावापानी, रहनसहन र यहाँ भविष्य उज्ज्वल हुने देखेर बिभिन्न भिसा अन्तर्गत न्युजिल्याण्ड आउने नेपालीको संख्या बढ्ने क्रममा रहेको छ । न्युजिल्याण्डमा नेपालीको संख्या बढे पनि नेपालको तर्फ बाट न्युजिल्याण्डमा अहिले सम्म दुतावास स्थापना भएको छैन । न्युजिल्याण्डमा नेपाली मानार्थ वाणिज्य दूतावास रहे पनि पूर्ण अधिकार नभएकाले न्युजिल्याण्ड मा बसोबास गर्ने नेपालीको सेवाका लागि र नेपालीको समस्या समाधान गर्नको लागि राजदुतावास कै आवश्यकता रहेको देखिन्छ ।
हाल अष्ट्रेलियामा रहेको नेपाली दुतावासले नै न्युजिल्याण्ड लगायत फिजी, पपुवा न्युगिनी, सामोवा, सोलोमोन आईल्याण्ड, तुभालु र भानुवातुको दुतावासको काम गर्दै आएको छ । अष्ट्रेलियामा पहिल्यै नेपालीको संख्या उलेख्य छ र त्यहाँ रहेको दुतावासले अष्ट्रेलियामै बसोबास गर्ने नेपालीलाई सेवा दिन हम्मे हम्मे पर्ने गरेको समाचार बाहिरिदै आएको छ । त्यस्तोमा अष्ट्रेलिया बाहेक अन्य देशमा बसोबास गर्ने नेपालीलाई नेपाली दुतावासको सेवा लिन समस्या हुने देखिएको हो । न्युजिल्याण्डको तर्फबाट बारम्बार नेपाल सरकारलाई यस बिषयमा ध्यानाकर्षण गराउदै आएको छ । हालै मात्र न्युजिल्याण्डमा नेपाली दुतावास खोल्न माग राखेर गैरआवासीय नेपाली संघ न्युजिल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ। संघले न्युजिल्याण्डमा दुतावास नहुँदा न्युजिल्याण्डमा रहेका नेपालीलाई समस्या भएकाले दुतावास स्थापना आवश्यक रहेको उल्लेख गर्दै प्रधानन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । गैर आवासीय नेपाली संघ न्युजिल्याण्डका अध्यक्ष लाल केसीलगायतका प्रतिनिधिहरुले प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधबकुमार नेपाल लगायत उच्चपदस्थ राजनीतिक दलका नेताका साथै पराष्ट्र मन्त्रालयमा समेत पुगेर नेपाली दुतावासका लागि पहल गरिदिन ज्ञापन पत्र सहित अनुरोध गरिएको छ ।
अध्यक्ष केसीका अनुसार २० हजारभन्दा बढी न्युजिल्याण्डमा र प्रशान्त द्वीप क्षेत्रमा करिब १० हजार गरी ३० हजारभन्दा बढी नेपालीको बसोबास गर्छन। न्युजिल्याण्डमा दुतावास स्थापना हुँदा ३० हजार नेपालीलाई सहज हुने अध्यक्ष केसीद्वारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ।अष्ट्रेलियामा धेरै नेपाली रहेको र अष्ट्रेलियामा रहेको नेपाली दुतावासले त्यहाँ रहेका नेपालीको समस्या समाधान गर्न धौधौ रहेको अवस्थामा न्युजिल्याण्ड र प्रशान्तद्वीप क्षेत्रमा बासेबास गर्ने नेपालीको समस्या समाधान गर्न झनै कठिन भएको अध्यक्ष केसीको भनाई छ। नेपालीले पासर्पोटमा प्रयोग हुने बायोमेट्रिक नमुना संकलन दुतावासबाट मात्रै हुने, हराएको पासर्पोट बनाउन वा पासर्पोट नविकरण गर्न जाँदा अष्ट्रेलियाले सजिलै भिषा नदिदाँ धेरै नेपालीको बिचल्ली, खर्चिलो हुने गरेको पनि उनले प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए।
‘न्यूजिल्याण्डबासीसँग नेपालीको राम्रो सम्बन्ध छ, हिमाल आरोहणबाट जोडिएको सम्बन्ध अहिले पनि बलियो छ,’ अध्यक्ष केसीले भने। उनले दुतावासको स्थापनापछि न्युजिल्याण्डको कृषि प्रविधिको आदान–प्रदान तथा त्यहाँबाट समेत नेपाली किसानले प्रत्यक्ष लाभ लिन सक्ने भएकाले दुबै देश बीचको सहकार्यका लागि समेत दुतावास स्थापनापछि राम्रो हुने बताए । ज्ञापनपत्रमा भनिएको छ, ‘यसअघि पनि पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराईसकेका छौं। प्रधानमन्त्रीले न्युजिल्याण्डमा नेपाली दुतावास स्थापनाका लागि पहल गर्ने आश्वासन दिएको गैर आवासीय नेपाली संघ न्युजिल्याण्डले जनाएको छ।


