न्युजिल्याण्डको नर्थ आईल्याण्डको Bay of Plenty मा किवी फलको सिजन सुरु भएको छ । फेब्रुअरी अन्तिम साता बाट केही ठाउँमा किवी फल टिप्नको लागि तयार भएका छन् । न्युजिल्याण्डमा किवी फलबाट नै सर्बाधिक आम्दानी हुने गरेको छ । बिशेषगरि ८१ % फल Bay of Plenty मा फल्ने गर्दछ । न्युजिल्याण्डमा दर्ता भएका करिब ३ हजार किवी बारी छन् । यि किवी बारी करिब १५ हजार हेक्टरमा फैलिएको छ ।

किवी फलाउने देशमा न्युजिल्याण्ड विश्व मै तेस्रो नम्बरमा पर्छ । विश्व कै पहिलो नम्बरमा भने चीन छ जस्ले वर्षमा २० लाख ३५ हजार टन किवी उत्पादन गर्छ । त्यस्तै दोस्रोमा ईटाली छ जस्ले वार्षिक ५ लाख ६२ हजार टन किवी फलाउछ । न्युजिल्याण्डले भने वर्षमा ४ लाख १४ हजार टन किवी फलाउने गर्दछ । न्युजिल्याण्ड पछि सर्वाधिक किवी फलाउने देशमा ईरान, ग्रिस, चिली, टर्की , फ्रान्स, अमेरिका र पोर्तुगल छन् । विश्वभर फलाईने किवि ५० प्रकारका छन् तर न्युजिल्याण्डमा भने केही प्रकारका किवीको मात्र उत्पादन हुने गर्दछ जस्मा गोल्ड किवी, ग्रीन किवी, रेड किवी र बेरी किवी पर्दछ । न्युजिल्याण्डमा फल्ने किवी विश्वभर पुग्ने गरेको छ । राम्रो हावापानी र वातावरणमा फल्ने भएर पनि न्युजिल्याण्डको किवीको माग विश्वबजारमा राम्रो मानिन्छ ।
फेब्रुअरीको अन्तिम साताबाट सुरु भएको किवी सिजन लगभग ४ महिना सम्म चल्ने छ । यस्मा किवी टिप्ने र प्याक गर्ने काम चल्दछ ।

किवी टिप्ने काम जुनसम्ममा सकिने छ भने प्याकिङको सिजन केही महिना चल्ने छ । मेन प्याकको सिजन जुलाई अन्तिम सम्म चल्ने छ भने, टिपेर स्टोर गरि राखेको किवीको प्याकिङ अगस्त सम्म चल्ने छ । त्यस्तै प्याक गरेर राखिसकेको किवीलाई आवश्यकता अनुसार पुन:प्याक गरिन्छ । यो क्रम नोभेम्बरसम्म जारी रहने छ ।
किवीको सिजन सुरु भएसगैँ किवी टिप्न र प्याक गर्न कामदारको ठुलो संख्यामा माग हुने गर्दछ । यो समयलाई कामदारले राम्रो पैसा कमाउने अवसरको रुपमा पनि लिने गर्दछन् । २०२४ सालको किवी सिजनको लागि २४ हजार कामदार चाहिने (New Zealand Kiwifruit Growers Incorprate NZKGI) न्युजिल्याण्ड किवीफ्रुट्स ग्रोवर्स इनकर्पोरेटले जनाएको छ । बिशेष गरि यूरोपियन देशबाट पनि कामदारहरु किवी सिजन कै लागि न्युजिल्याण्ड आउने गर्दछन् । किवी टिप्न जती कामदारको आवश्यकता पर्छ त्यही हाराहारीमा त्यस्लाई प्याक गर्न मानिस चाहिन्छ । एउटा प्याकहाउसले एक सिजनको लागि करिव ६०० कर्मचारी भर्ती गर्नुपर्छ । प्याकहाउसमा २४ सै घण्टा प्याकिङको काम हुने गर्दछ । धेरै कामदारको माग भएकाले अहिले Bay of Planty मा सजिलै काम पाउन सकिन्छ । राम्रो कमाई हुने भएकाले अबको केही महिना कामदारहरु किवी बारीमा रमाउने गर्दछन् ।
किवी टिपेर धेरै पैसा कमाउन सकिने देखिएको छ । हुन त किवी टिप्ने काम घण्टे काममा पर्दैन । ठेक्केदारहरुले बिनको आधारमा पैसा दिने गरेको हुन्छन् । तर त्यही बिनको आधारमा आउने पैसालाई घण्टामा हिसाब गर्दा भने किवी पिकिङबाट राम्रो पैसा हुन्छ । किवी टिप्नको लागि पनि बिनको आकार अनुसारको ज्याला राखिएको छ । मौसमले साथ दिए र लगातार काम भए अबको ३ महिनामा किवी टिप्न र प्याक गर्न चाहनेले अतिरिक्त आमदानी गर्ने छन् ।
यो पनि पढ्नुहोस्: किवी टिपेर घण्टाको ६० डलर ???


