लेबर पार्टीका नेता तथा पुर्व उपप्रधान तथा अर्थ मन्त्री ग्रान्ट रोबर्टसनले न्युजिल्याण्डको संसदमा अन्तिम पटक सम्बोधन गर्दै राजनितीबाट बिदा भएका छन् । आज बसेको संसदको बैठकमा उनले भाबुक हुँदै सम्बोधन गरेका थिए । उनी सन् २०२० देखि सन् २०२३ सम्म न्युजिल्याण्डको उपप्रधानमन्त्री थिए भने सन् २०१७ देखि २०२३ सम्म जसिन्डा आर्डेनको क्याबिनेटमा अर्थ मन्त्री रहेका थिए । सोही क्रममा उनले खेलकुद मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए । सन् २०२३ मा क्रिस हिप्किन्स प्रधानमन्त्री बने पछि भने उनी पर राष्ट्र मन्त्री तथा हातहतियार नियन्त्रण मन्त्री भएका थिए । सन् १९७१ मा पार्मेसन नर्थमा जन्मिएका रोबर्टसन समलिङी पुरुष हुन् । उनी हाल आफ्ना पार्ट्नर अल्फ काईवाईसँग वेलिङ्टनमा बस्दै आएका छन् ।

न्युजिल्याण्डको संसदमा रोबर्टसन पुराना नेता हुन् । उनि १६ वर्ष देखि लगातार न्युजिल्याण्ड संसदमा सांसदको रुपमा कार्यरत रहेका थिए । रोबर्टसन सन् २००८ मा पहिलो पटक न्युजिल्याण्डको संसद पसेका थिए । सन् २००६ मा वेलिङ्टन सेन्ट्रलकी सांसद मारियन होब्ब्सले राजिनामा दिएपछि रोबर्टसनले सन् २००८ को निर्वाचनमा सोही क्षेत्रबाट चुनाव लड्ने मौका पाएका थिए । उक्त निर्वाचनमा उनब्ले नेसनलका स्टेफेन फ्रन्सलाई १९०४ मतले पराजित गरेका थिए । त्यस्पछि भएका ६ वटा आम निर्वाचनमा निरन्तर निर्वाचित हुँदै रोबर्टसन न्युजिल्याण्डको संसद र सत्तामा हाबी हुँदै गएका थिए । सन् २०२० सम्म उनि वेलिङ्टन सेन्ट्रलबाटै निर्वाचित हुँदै थिए भने गत वर्षको निर्वाचनमा भने लेबर
पार्टीले उनलाई सुचिबाट सांसद बनाएको थियो । तर गत महिना उनले अब राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए । त्यसै अनुरुप उनी आज न्युजिल्याण्डको संसदमा अन्तिम पटक सम्बोधन गर्दै बिदा भएका छन् ।
अब उनि युनिभर्सिटी अफ ओतागोमा भाईस चन्सलरको रुपमा काम गर्ने छन् ।