प्राय: काठमान्डु भन्ने बित्तिकै हाम्रो देश नेपालको राजधानी काठमाडौं भनेर बुझिन्छ । बिदेशमा पनि काठमाडौं भन्दा नेपाल नै बुझिन्छ तर काठमान्डु हाम्रो देशको राजधानीमात्र होइन न्युजिल्याण्ड, अष्ट्रेलियालगायतका देशमा यो एउटा ब्रान्डको रुपमा पनि परिचित छ । ट्रेकिङका लागि चाहिने महँगा सामानहरु उत्पादन र बेच्ने ब्रान्ड हो काठमान्डु । न्युजिल्याण्डकी प्रतिष्ठित महिला ब्यवसायी जान क्यामेरून र जान पासनले सन् १९८७ मै काठमान्डु होल्डिङ्ग्स लिमिटेड कम्पनी खोलेका थिए। उनिहरुले पहिलो स्टोर खोलेको पनि सन् १९८७ मा आज भन्दा ३४ वर्ष अगाडी रहेछ । पहिलो स्टोर भने क्राइसचर्चमा खोलिएको थियो । त्यसयता अहिले न्युजिल्याण्डमा काठमान्डुको ४७ वटा स्टोर संचालनमा छन् । त्यस्तै अष्ट्रेलियामा यस्को ११५ वटा स्टोर छन् । त्यस्तै काठमान्डु स्टोर केही वर्ष यता अमेरिका र बेलायतमा पनि संचालनमा आएका छन् ।

काठमान्डु नाम रहे पनि यहाँ नेपालमा पाइने सामान भने पाईदैन । तर यो स्टोरमा केही नेपाली नाम भएका लुगाहरु पाईन्छ । नेपाली उत्पादन झै लाग्ने यि समानको उत्पादन भने चिनमा भएको हो । नेपाली धागो ,उुन जस्ता कच्चा पदार्थको प्रयोग भए नि काठमान्डुका प्राय: समान चिनमा बनेका हुन्छन् । यो स्टोरमा प्राय: ट्रेकिङ गर्न प्रयोग हुने सामानहरु पाईन्छ । तुलनात्मक रुपमा काठमान्डु लुगा महँगा हुन्छन् । यस्मा पाउने सामानहरुको गुण्स्तर भने राम्रा हुन्छन् । त्यसैले प्राय: न्युजिल्याण्डबासीको रोजाईमा काठमान्डुका लुगा हरु पर्ने गर्दछन् । बिभिन्न अवसरमा काठमान्डु ले १० % देखि ७० % सम्मको छुटसहितको सेलको योजना पनि ल्याउने गरेको छ । काठमान्डु सुन्ने बित्तिकै नेपाल सँग सम्बन्धित होला भन्ने लाग्छ तर नेपाल सँग भने यस्को नाम बाहेक अरु केही सम्बन्ध छैन । नेपालमा पनि ह्वाइट हाउस, चेल्सी नाम राखेका कलेजहरु हुन्छन् तर यो नाम सँग त्यो कलेजको कुनै सम्बन्ध हुँदैन त्यस्तै काठमान्डु स्टोरको पनि नेपाल सँग सम्बन्ध छैन । तर पहिलो पटक न्युजिल्याण्ड र अष्ट्रेलिया पुगेकालाई भने यो स्टोर देख्न साथ नेपाली पसल रहेछ भन्ने भान हुन्छ ।


