न्युजिल्याण्डमा आज श्रमिक दिवस मनाईदै छ । लेबर डेको रुपमा हरेक वर्ष अक्टोबरको अन्तिम सोमबार न्युजिल्याण्डमा लेबर डे मनाउने गरिन्छ । आज देशभर सार्वजनिक बिदा दिईने गरेको छ ।
न्युजिल्याण्डमा सन् १८४० मा पहिलो पटक श्रमिकहरुको हितको लागि आन्दोलन सुरु भएको थियो । सो अवसरमा हजारौं ट्रेड युनियन सदस्यहरू र समर्थकहरूले मुख्य सहर केन्द्रहरूमा परेडमा भाग लिएका थिए । सन् १८९० अक्टोबर २८ मा पहिलो पटक न्युजिल्याण्डमा लेबर डे मनाउन थालिएको थियो । सन् १८९९ बाट भने सरकारले श्रम दिवस ऐन मार्फत उक्त दिनलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सुरुमा अक्टोबरको दोस्रो बुधबार न्युजिल्याण्डमा लेबर डे मनाईन्थ्यो । पछि शनिबार र आईतबारको बिदासगैँ पार्न लेबर डेलाई सोमबार सारिएको थियो । सन् १९१० देखि हरेक वर्षको अक्टोबर महिनामा अन्तिम सोमबारलाई लेबर डेको रुपमा मनाउने गरिएको छ ।
श्रम दिवस धेरै देशहरु द्वारा विभिन्न मितिहरूमा मनाइन्छ। सन् १८९९ मा न्यूजिल्याण्डमा दैनिक ८ घण्टा र हफ्तामा ४८ घण्टा सम्म काम गर्न मिल्ने कानुन बनेपछि त्यस यता श्रम दिवस मनाइदै आईएको छ । श्रम दिवसको उत्पत्ति मजदुर युनियन आन्दोलनबाट भएको हो । विशेष गरी आठ घण्टा कामको लागि, आठ घण्टा मनोरञ्जनको लागि र आठ घण्टा आरामको वकालत गर्ने कानुन बने सँगै विश्वभर बिभिन्न समयमा श्रम दिवस मनाईन्छ । विश्वमा १५० भन्दा बढी मुलुकमा श्रम दिवस मे १ तारिकका दिन मनाईन्छ ।


