मंसिर शुक्ल पूर्णिमाको दिन आज किराँत समुदायले उधौली पर्व मनाउँदै छन्। तीन दिन अघि शुरु भएको यो पर्वको तेस्रो दिन किरात समुदायका राई, लिम्बु, सुनार र याक्खा जातिले संयुक्त रुपमा उघौली पर्व मनाउने गर्छन्। किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ। राजधानीमा भने ललितपुरको सानो हात्तीवनमा रहेको ऐतिहासिक तीर्थस्थलमा पुगेर किरात पर्व उधौली विशेष रुपमा मनाउने गरिन्छ।
त्यस्तै आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवीलगायत स्थानमासमेत मेला लाग्ने गर्दछ ।
नेवार समुदायमा योमरी पुन्हि
उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्यस्थलमा बसोबास गर्ने पहाडी समुदायले कूलपूजा र गोठपूजा गरी गैडुपूजा गर्ने विधान रहेको छ ।