आउदो नोभेम्बर ३० बाट नेपालमा सुरु हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा न्युजिल्याण्डका ३ क्रिकेटरले स्थान पाएका छन् । न्युजिल्याण्डका क्रिकेटरहरु मार्टिन गप्टिल, जिम्मी निसम र स्कट कुगेलेइन नेपाल प्रिमियर लिगमा सहभागी हुँदै छन् । मार्टिन गप्टिल बिराटनगर किङ्सबाट खेल्दै छन् भने जिम्मी निसम जनकपुर बोल्ट्सबाट एनपिएलमा सहभागी हुँदै छन् । न्युजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेलेइनले सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

गप्टिल ओडीआई विश्वकपमा दोहोरो शतक प्रहार गर्ने खेलाडीसमेत हुन् । ३८ वर्षीय गप्टिलसँग अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेट खेलेको धेरै अनुभव छ । उनी एनपीएलका लागि अनुबन्ध हुने अहिलेसम्मकै ठूलो नाम र स्टार खेलाडी हुन् । गप्टिलले किवी टोलीका लागि ४७ टेष्ट, १९८ ओडीआई र १२२ टी-२०आई खेल खेलेका छन् । उनले ३४७ टी-२० खेल खेलेका छन् । ओडीआईमा एकै खेलमा अविजित २३७ रन बनाएका गप्टिलले टी-२० आईमा २ शतक प्रहार गरेका छन् । टी-२० आईमा उनको उच्च स्कोर १०५ रन हो । उनले टेष्टमा २ हजार ५८६ रन बनाएका छन् भने ओडीआईमा ७ हजार ३४६ रन बनाएका छन् । यस्तै टी-२० आईमा ३ हजार ५३१ रन बनाएका छन् । विश्वभर सबैखाले टी-२० खेलमा गरेर गप्टिलले ९ हजार भन्दा बढी रन बनाएका छन् । उनले मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबाट इन्डियन प्रिमिय रलिग आईपीएल खेलिसकेका छन् । यस्तै बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायत अन्य फ्रेन्चाइज लिगसमेत खेलिसकेका छन् ।

न्युजिल्याण्डका लागि टेस्ट, ओडीआई र टी-२० आई तीनै फर्म्याटमा खेलेका स्कटले पछिल्लो पटक यसै वर्ष मार्चमा अष्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए । उनको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ । तीव्र गतिको बलिङ गर्ने उनीसँग तल्लोक्रममा ठूला सट खेल्ने क्षमता छ । स्कटसँग विश्वका क्रिकेटको शीर्ष फ्रेन्चाइज लिग खेलेको अनुभव छ । उनले सन् २०११ देखि प्रथम श्रेणी क्रिकेट खेल्दै आएका छन् । टी-२० क्रिकेटमा २६ को औसतले १६८ विकेट लिनुका साथै ब्याटिङतर्फ १३४ को स्ट्राइक रेटले एक हजार २२ रन उनको नाममा छ । यसबाहेक प्रथम श्रेणी क्रिकेटमा उनले २७ को औसतमा रन जोड्दै ४ शतक र १८ अर्धशतक प्रहार गरेका छन् ।

३४ वर्षीय अलराउण्डर निसमले न्युजिल्याण्डका लागि १२ टेष्ट, ७६ ओडीआई र ७९ टी-२० आई खेलेका छन् । उनीसँग इन्डियन प्रिमियर लिगदेखि विश्वका विभिन्न फ्रेन्चाइज लिगहरु समेत खेलेको अनुभव छ । सन् २०१९ को वानडे वर्ल्डकप र २०२१ को टी-२० वर्ल्डमा न्युजिल्याण्ड उपविजेता बन्दा निसम टिमको सदस्य थिए । निसमले गत जुनमा वेष्टइन्डिज र अमेरिकामा भएको आईसीसी टी-२० विश्वकपमा पनि खेलेका थिए ।


