ईतिहासमा आज: ४५ वर्ष अगाडि २५७ जनाले ज्यान गुमाएको भयानक हवाई दुर्घटनाको नालीबेली – New Zealand News Nepal (NZ News Nepal)

ईतिहासमा आज: ४५ वर्ष अगाडि २५७ जनाले ज्यान गुमाएको भयानक हवाई दुर्घटनाको नालीबेली

   November 28, 2024  

२८ नोभेम्बर सन् १९७९, एयर न्युजिल्याण्डको फ्लाईट ९०१ मार्फत नियमित साईट अवलोकनका लागि अन्टार्क्टिकाका लागि उडेको बिमान दुर्घटना परि बिमानमा सवार सबै २५७ जनाले ज्यान गुमाएको दिन । यो दुर्घटनालाई न्युजिल्याण्डको हवाई ईतिहासकै सबै भन्दा भयानक दुर्घटनाको रुपमा लिने गरिन्छ । एयर न्युजिल्याण्डले सन् १९७७ बाट अकल्याण्डबाट अन्टार्क्टिकाको सिधा हवाई उडान सुरु गरेको थियो । पर्यटकिय हिसावले सुरु गरिएको यो उडानले ११ घण्टा उडान भर्थ्यो । अन्टार्क्टिकाको आकाशमा केही फन्को मारेर यो उडान साउथ आईल्याण्डको क्राईसचर्चमा अवतरण हुन्थ्यो । त्यसपछि त्यहा ईन्धन हालेर बिमान पुन: अकल्याण्ड फर्किन्थ्यो ।

४५ वर्ष अगाडि पनि नोभेम्बर २८ का दिन एयर न्युजिल्याण्डको फ्लाईट टिएल ९०१ मार्फत एक बिमान २३७ यात्रु र २० चालक दलका सदस्य सहित अन्टार्क्टिका तर्फ उडान भरेको थियो । अकल्याण्डबाट बिहान ८ बजे उडेको बिमान सोही दिन साझँ ७ बजे क्राईसचर्चमा ईन्धन हालेर राती ९ बजे अकल्याण्ड अवतरण गर्ने तालिका थियो । तर उक्त दिन बिमान अन्टार्क्टिकामै दुर्घटना हुन पुग्यो । अन्टार्क्टिकाको माउट ईरेबसमा उक्त बिमान दुर्घटना हुँदा बिमानमा सवार सबै यात्रु र चालक दल गरि २५७ जनाको मृत्‍यु भयो । उक्त बिमान दुर्घटनामा परि न्युजिल्याण्डका १८० यात्रु, जापानका २४, अमेरिकाका २२, बेलायतका ६, क्यानडाका २ र अष्ट्रेलिया, फ्रान्स र स्विट्जरल्याण्डका १-१ गरि सबै २३७ यात्रुले ज्यान गुमाएका थिए । त्यस्तै चालक दलका २० सदस्य सबै न्युजिल्याण्डका नागरिक रहेका थिए ।

बिहान ८ बजे अकल्याण्डबाट उडेको बिमान न्युजिल्याण्ड समय अनुसार दिउसो १२:४७ मा दुर्घटना भएको थियो । बिमान दुर्घटनाको कारण पाईलटको गल्ती बताईएको थियो । उडान भर्ने दुवै पाईलटले पहिलो पटक अन्टार्क्टिकाको उडान गर्दै थिए । उनिहरु त्यो रुटमा अनुभवी नभएकाले नै दुर्घटना भएको बताईएको छ । अन्टार्क्टिकाको केही फन्को मारेर न्युजिल्याण्ड फर्किने तरखरमा रहेको बिमानले एक्कासी गति परिवर्तन गरेको थियो । त्यसपछि पाईलटले बिमानलाई गतिमा ल्याउन सकेनन् । बरफ नै बरफले भरिएको अन्टार्क्टिकामा बिमान कुन दिसामा जादैँ छ भन्ने पाईलटले पत्तो पाउन सकेनन् । बिमानलाई McMurdo Sound तर्फ लगिरहेको ठानेका पाईलटले बिमानलाई Lewis Bay तर्फ लगिरहेका थिए जुन माउट ईरेबस नजिकै थियो । केही समय पछि बिमानले खतराको सकेँत गर्दै बिमान जमिनबाट केही मिटर उचाईमा मात्र रहेको सुचित गर्‍यो । त्यसपछि पाईलटले पुरा पावर दिएर बिमानलाई माथि लान खोजे तर त्यो बेला सम्म ढिला भईसकेको थियो । त्यस्को केही सेकेन्डमा नै बिमान माउन्ट ईरेबसमा ठोक्किन पुग्यो र ठुलो दुर्घटनाको सिकार बन्न पुग्यो ।

बिमान दुर्घटनाको सुचना पाएपछि न्युजिल्याण्ड र अन्टार्क्टिकाबाट ठुलो संख्यामा उद्दार टोली दुर्घटनास्थल पुगेका थियो । करिब २० घण्टाको कोसिस पछि उद्दार टोलीले दुर्घटनास्थल पत्ता लगाएका थिए । उद्दार टोली त्यहाँ पुग्दा अवस्था भयानक थियो र कोही पनि जिवित नरहेको सुचना अकल्याण्डसम्म पुर्याईएको थियो । ज्यान गुमाएका २५७ मध्ये १६ जनाको शव नचिनिने अवस्थामा रहेको थियो र उनिहरुको सनाखत हुन पनि समस्या भएको थियो । त्यस्तै २८ जनाको त शव पनि नभेट्टिएको बताईएको छ । दुर्घटनाको केही दिन पछि सार्वजनिक गरेको रिपोर्ट अनुसार पाईलटको गल्तीका कारण दुर्घटना भएको निष्कर्श निकालिएको थियो । त्यसै अनुभव नभएका पाईलट लाई उक्त रुटमा पठाएको भन्दै एयर न्युजिल्याण्डको चर्को आलोचना समेत भएको थियो ।

न्युजिल्याण्डको ईतिहासमा यो दुर्घटना अहिले सम्मकै ठुलो दुर्घटनाको रुपमा लिईन्छ ।