८४ दिनपछि प्रहरीको हिरासतबाट छुटे रवि लामिछाने – New Zealand News Nepal (NZ News Nepal)

८४ दिनपछि प्रहरीको हिरासतबाट छुटे रवि लामिछाने

   January 10, 2025  

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका छन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

अब अदालती प्रक्रिया पूरा गरेर रविसहित सबै प्रतिवादीहरूलाई फिस्टेल अस्पताल पोखरामा स्वास्थ्य परीक्षणका लागि लगिने छ ।

‘अहिले सभापति सहित सबै प्रतिवादीहरू कास्की अदालतमै हुनुहुन्छ । अबको करिब एक घण्टापछि फिस्टेल अस्पताल पोखरामा उहाँहरूको स्वास्थ्य परीक्षण गरिनेछ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले खबर हबलाई भने, ‘अहिले अदालत ती प्रक्रिया पूरा गर्ने काम भइरहेको छ। आज नै स्वास्थ्य परीक्षण गर्ने काम हुन्छ भनेर जानकारी गराउनुभएको छ।’

स्रोतका अनुसार उनलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुने सर्तमा रिहा गरिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ रविसहित सातैजनालाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।