न्यूजिल्यान्ड नेपाली समाज (NZNS) द्वारा मानसिक स्वास्थ्य तथा सामुदायिक सशक्तिकरणका लागि सुरु गरिएको “साथी” (Saathi) कार्यक्रमको दोस्रो सत्र शनिबार, मे १० तारिखमा अकल्याण्डस्थित Freemans Bay Community Hall मा सफलतापूर्वक सम्पन्न भएको छ । दिउँसो १२ बजे देखि ४ बजेसम्म सञ्चालन भएको यो कार्यक्रममा विशेषगरी अन्तर्राष्ट्रिय विद्यार्थी र युवाहरूलाई लक्षित गर्दै मानसिक स्वास्थ्य, करियर विकास तथा आप्रवासन सम्बन्धी विविध विषयहरूमा जानकारीमूलक सत्रहरू सञ्चालन गरिएको हो।
कार्यक्रममा विशेष अतिथि वक्ताहरूको रूपमा Madison Chang (Ethnic Communities Engagement Manager, Anti Drowning Prevention), आरती गिरी (NZ Licensed Immigration Advisor, White Cloud Immigration and Education Services) लगायतका विशेषज्ञहरूको उपस्थिति रहेको थियो। उहाँहरूले मानसिक स्वास्थ्य, आप्रवासन नीति, तथा जल सुरक्षा लगायतका विषयमा उपयोगी जानकारी जानकारी दिनु भएको थियो ।
कार्यक्रममा सहभागी युवाहरू र विद्यार्थीहरूसँग अन्तरक्रिया, उद्योग क्षेत्रका अनुभवी व्यक्तिहरूसँग ब्रेकआउट सत्र, CV तथा कभर लेटर लेख्ने कार्यशाला, र हालै परिवर्तन भएको आप्रवासन नीतिहरूको जानकारीसमेत समावेश गरिएको कार्यक्रमका संयोजक संजय शान्ति सुवेदीले जानकारी दिनु भएको छ।
त्यसैगरी, कार्यक्रममा एप्रिल १९ मा सम्पन्न नेपाल फेस्टिभल २०२५ का स्वयंसेवक, कलाकार तथा प्रायोजकहरूलाई प्रमाणपत्र वितरण गरी सम्मान गरिएको थियो। सहभागीहरूका लागि नेटवर्किङ सत्र र खाजा व्यवस्थासमेत गरिएको थियो।
युवाहरूको मानसिक स्वास्थ्य र समुचित जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “साथी” कार्यक्रम सम्पूर्ण समुदायका लागि खुला रहेको आयोजक NZNS ले जनाएको छ।


