न्यूजील्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पीटर्सले अष्ट्रेलिया र दक्षिण एसियाको भ्रमण आज (२३ मे) बाट सुरु गरेका छन्। यस भ्रमणअन्तर्गत उनी अष्ट्रेलिया, श्रीलंका, नेपाल र भारत जानेछन्।
उनी आज अष्ट्रेलिया पुग्नेछन् र त्यहाँकी विदेशमन्त्री पेनी वोंगसँग भेट गर्नेछन्। उनी आगामी छ महिनाभित्र हुने अष्ट्रेलिया–न्यूजील्याण्ड विदेशमन्त्रीस्तरीय परामर्श बैठकमा पनि सहभागी हुनेछन्।
त्यसपछि पीटर्स दक्षिण एसियातर्फ प्रस्थान गर्नेछन्, जहाँ उनी श्रीलंका, नेपाल र भारतका कार्यक्रमहरूमा सहभागी हुनेछन्।
कोलम्बोमा, पीटर्सले २०१३ पछि श्रीलंकामा भ्रमण गर्ने पहिलो न्यूजील्याण्ड विदेशमन्त्रीको रूपमा राष्ट्रपति अनुरा कुमार दिसानायक, प्रधानमन्त्री हरिणी अमरसूरिया र विदेशमन्त्री विजिथा हेराथसँग भेटघाट गर्नेछन्।
यो भ्रमण नेपालका लागि पहिलोपटक न्यूजील्याण्डका विदेशमन्त्रीको औपचारिक आगमन हो, जसले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
नेपालको दुईदिने औपचारिक भ्रमण सकेर विदेशमन्त्री पीटर्स भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन्। दिल्लीमा विदेशमन्त्री पीटर्सले भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरसँग भेट गर्नेछन् ।
विदेशमन्त्री पीटर्ससहितको भ्रमण टोली ३१ मेमा न्यूजील्याण्ड फर्किने कार्यक्रम रहेको छ।


