वाणिज्यदूत दिनेश खड्कालाई ‘न्यूजील्याण्ड अर्डर अफ मेरिट’ सम्मान – New Zealand News Nepal (NZ News Nepal)

वाणिज्यदूत दिनेश खड्कालाई ‘न्यूजील्याण्ड अर्डर अफ मेरिट’ सम्मान

   May 25, 2025  

न्यूजील्याण्ड सरकारले नेपाली समुदायप्रति उल्लेखनीय योगदान पुर्‍याउनु भएका न्यूजील्याण्डका लागि नेपालको मानार्थ वाणिज्यदूत दिनेश कुमार खड्कालाई ‘न्यूजील्याण्ड अर्डर अफ मेरिट’ (Member of the New Zealand Order of Merit) सम्मान प्रदान गरेको छ। अकल्याण्डको गभर्नमेन्ट हाउसमा आयोजित एक विशेष कार्यक्रममा खड्कालाई न्यूजील्याण्डकी गभर्नर जनरल सिन्डी किरोले उक्त सम्मान प्रदान गरेकी हुन्।

खड्काले यो सम्मानलाई व्यक्तिगत भन्दा पनि सम्पूर्ण नेपाली समुदायको  भएको बताउनुभएको छ । “यो सम्मान केवल मेरो लागि होइन, नेपाली समुदायको लागि हो। म यो सम्मान हाम्रा सम्पूर्ण समुदायलाई समर्पण गर्दै हार्दिक बधाई दिन चाहन्छु। तपाईंहरूको साथ, एकता र साझा दृष्टिकोणका कारणमात्रै यो सम्भव भएको हो।’  खड्काले सम्मान ग्रहण गर्दै बताउनुभएको छ ।

खड्का २०२२ देखि अकल्याण्ड, वाइकाटो र नर्थल्याण्ड क्षेत्रका लागि नेपालका मानार्थ वाणिज्यदूतका रूपमा कार्यरत हुनुहुन्छ। उहाँले २०१७ देखि २०२० सम्म न्यूजील्याण्ड नेपाल सोसाइटीको अध्यक्षता गर्नु भएको थियो ।  साथै, उहाँले न्यूजील्याण्ड नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष पद पनि पाँच वर्षसम्म सम्हाल्नु भएको थियो ।

न्यूजील्याण्ड अर्डर अफ मेरिट एक राष्ट्रिय सम्मान हो जसलाई न्यूज़ील्याण्ड सरकारले देश र समाजमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रदान गर्दछ। यो सम्मान सांस्कृतिक, सामाजिक, वैज्ञानिक, व्यावसायिक, वा कुनै पनि क्षेत्रमा असाधारण सेवा गर्ने व्यक्तिहरूलाई दिइन्छ। यसले उनीहरूको समर्पण र उपलब्धिलाई मान्यता दिन्छ र न्यूज़ील्याण्डका लागि गर्वको विषय बनाउँछ।