१२ वर्षपछि न्यूजील्याण्डका विदेशमन्त्री श्रीलङ्कामा – New Zealand News Nepal (NZ News Nepal)

१२ वर्षपछि न्यूजील्याण्डका विदेशमन्त्री श्रीलङ्कामा

   May 26, 2025  

न्यूजील्याण्डका उपप्रधानमन्त्री तथा विदेश मन्त्री विन्स्टन पीटर्स चार दिने औपचारिक भ्रमणका लागि श्रीलङ्का आइपुगेका छन्। उनी मे २५ देखि २८ सम्म श्रीलङ्का भ्रमणमा छन्।   न्यूजील्याण्डको विदेशमन्त्रीको तर्फबाट भएको यो भ्रमण सन् २०१३ यताकै पहिलो भ्रमण हो।  यसअघि सन् २०१३ को अगस्टमा न्यूजील्याण्डका तत्कालीन विदेशमन्त्री मरे म्याकलीले श्रीलङ्का भ्रमण गरेका थिए।

कोलम्बोस्थित कटुनायके अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलङ्काका उप-विदेश मन्त्री अरुण हेमाचन्द्रले विदेश मन्त्री पीटर्सलाई स्वागत गरे। 

 मन्त्री हेमाचन्द्रले सामाजिक सञ्जालमार्फत् यो भ्रमणले दुई देशबीचको दीर्घकालीन मित्रता सुदृढ गर्न र आपसी चासोका क्षेत्रमा नयाँ सहकार्यको सम्भावना खोज्न मद्दत गर्ने बताएका छन्।

भ्रमणको क्रममा उपप्रधानमन्त्री पीटर्सले श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार डिसानायके, प्रधानमन्त्री हरिणी अमरासुरिया र विदेश मन्त्री विजिता हेराथसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यी भेटघाटहरूमा व्यापार, लगानी, कृषि, शिक्षा, पर्यटन, खेलकुद र कनेक्टिविटीजस्ता क्षेत्रहरूमा सहकार्य विस्तारबारे छलफल हुने अपेक्षा गरिएको छ।

यस भ्रमणले न्यूजील्याण्ड र श्रीलङ्काबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

श्रीलङ्का भ्रमण सम्पन्न गरी उपप्रधानमन्त्री पीटर्स मे २८ मा नेपालको राजधानी काठमाडौं प्रस्थान गर्ने छन्।