विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको आज ७२ वर्ष पूरा भएको छ। साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ मा सगरमाथाको शिखरमा पुगेका थिए। उनीहरूको ऐतिहासिक सफलताको सम्झनामा हरेक वर्ष ‘सगरमाथा दिवस’ मनाइन्छ।
सगरमाथा आरोहणको ७२ औँ वार्षिकोत्सवको अवसरमा नेपाल लगायत विश्वका विभिन्न देशहरूमा विविध कार्यक्रम आयोजना गरी ‘सगरमाथा दिवस’ आज धुमधामसँग मनाइँदैछ। पर्वतारोहण, पर्यटन र साहसिक अभियानका क्षेत्रलाई सम्मान गर्ने उद्देश्यले यो दिवस विशेष महत्वका साथ मनाइन्छ।
सगरमाथा पर्वतारोही मध्येका एक सर एडमन्ड हिलारीको देश न्यूजील्याण्डमा पनि आजको दिन विशेष कार्यक्रमका साथ मनाइँदैछ। यस्तै सन्दर्भमा न्यूजील्याण्डका उपप्रधानमन्त्री तथा विदेश मन्त्री विन्स्टन पीटर्स हाल नेपाल भ्रमणमा रहेका छन्।
उनको भ्रमणले नेपाल–न्यूजील्याण्ड सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। नेपाल र न्यूजील्याण्डबीच सगरमाथाको ऐतिहासिक यात्राबाट सुरु भएको सम्बन्ध आज अझ सशक्त बन्ने क्रममा रहेको यो अवसरलाई नेपाल सरकारले पनि विशेष कूटनीतिक अवसरको रूपमा लिएको छ।