संसदमा रास्वपाको नाराबाजी ‘गृहमन्त्री राजीनामा दे…’ – New Zealand News Nepal (NZ News Nepal)

संसदमा रास्वपाको नाराबाजी ‘गृहमन्त्री राजीनामा दे…’

   May 27, 2025  

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा अवरोध गरेका छन् ।

विपक्षी दलहरूको अवरोधका कारण बैठक आधा घण्टका लागि स्थगित भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका विपक्षीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग्दै नाराबाजी गरे ।

उनीहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म नियमित बैठक चल्न नसक्ने अडान लिएका छन् ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र रास्वपाका शिशिर खनालले बोलेपछि संसद्मा अवरोध गरिएको हो । उनीहरूले गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएका छन् । बजेट ल्याउने बेलामा उनीहरूले सदन चल्न नदिने अडान लिएका छन् ।

सभामुख देवराज घिमिरेले सत्तापक्षबाट नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न दिए । घिमिरे बोल्न सुरु गरेपछि विपक्षी दलका सांसदले गृहमन्त्रीको राजीनामा मागेर नाराबाजी गरे । त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टालाई रोकेका छन् ।

माओवादी उपमहासचिव पुनले भिजिट भिसा प्रकरणमा अर्बौँको भ्रष्टाचार हुँदा यसमा राजनीतिक संलनग्ता रहेको आशंका गरेका छन् । उनले भिजिट भिसा प्रकरण राजनीतिक संरक्षणबिना सम्भव नभएको टिप्पणी गरे ।

‘अख्तियारले मुख्य आरोपी भनेका तीर्थराज भट्टराईलाई गृहमन्त्रीकै अग्रसरतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइएको देखिन्छ’, उनले भने, ‘विवादित पृष्ठभूमि भएका र यसभन्दा पहिले पनि विभिन्न अनियमिततामा जोडिएका सहसचिवलाई रोजीछाडी कसरी मालदार अड्डामा पठाउनुभयो, के साँच्चै मन्त्रीजीलाई ती सहसचिव एकदम स्वच्छ र सक्षम छन् भनेर हो कि कि अन्य कुनै स्वार्थ थियो ? यो अनुसन्धानको विषय हो ।’

गृहमन्त्री लेखकलाई अनुसन्धानको लागि तत्काल राजीनामा दिन पुनले आग्रह गरे । यसअघि पनि विभिन्न मन्त्रीबारे प्रश्न उठ्दा अहिलेका गृहमन्त्री लेखक तत्कालीन विपक्षमा हुँदा यसरी नै नैतिकताको प्रश्न उठाएको उनले स्मरण गराए । उनले लेखकलाई राजीनामा दिन भनेका छन् ।