नेपाल भ्रमणमा रहेका न्यूजील्याण्डका उप–प्रधानमन्त्री तथा बिदेश मन्त्री विन्स्टन पीटर्सले नेपालका विकास परियोजनाहरू र छात्रवृत्तिका लागि आगामी तीन वर्षभित्र २५ लाख न्यूजील्याण्ड डलर (झण्डै २ करोड ५७ लाख नेपाली रुपैयाँ) सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौंमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगको भेटपछि मन्त्री पीटर्सले उक्त घोषणा गरेका हुन्। यो सहयोग नेपालमा विशेष गरी शिक्षा र सामुदायिक विकासमा केन्द्रित परियोजनाहरूमा खर्च गरिने बताइएको छ।
उनका अनुसार, सगरमाथा क्षेत्रमा हिलारीद्वारा स्थापना गरिएको हिमालयन ट्रस्ट मार्फत विगत ७० वर्षदेखि न्यूजील्याण्डले नेपालमा शिक्षा र विकासमा निरन्तर सहयोग गर्दै आएको छ। आगामी दिनहरूमा यो सहयोगलाई अझ संस्थागत र प्रभावकारी बनाउँदै लैजाने योजनासमेत उनले बताए।
मन्त्री पीटर्सको यो भ्रमण न्यूजील्याण्डका परराष्ट्रमन्त्रीद्वारा नेपाल गरिएको पहिलो औपचारिक भ्रमण हो, जसले दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।


