न्यूजील्याण्डका उपप्रधानमन्त्रीले नेपाल र नेपालीलाई के भने ? सम्बोधनको पूर्ण पाठ – New Zealand News Nepal (NZ News Nepal)

न्यूजील्याण्डका उपप्रधानमन्त्रीले नेपाल र नेपालीलाई के भने ? सम्बोधनको पूर्ण पाठ

   May 29, 2025  

नेपालमा स्वागत गर्नु भएकोमा परराष्ट्रमन्त्री देउवालाई धन्यवाद।

हामीलाई यो ऐतिहासिक अवसरमा नेपाल आउन पाएकोमा निकै खुशी लागेको छ। यो न्यूजील्याण्डका परराष्ट्रमन्त्रीद्वारा नेपाल गरिएको पहिलो भ्रमण हो, र भोलि तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले सगरमाथा शिखर आरोहण गरेको ७२ औं वार्षिकोत्सव पनि हो।

नोर्गे र हिलारीको १९५३ को उपलब्धि दुबै देशहरूको इतिहासमा एक महत्वपूर्ण मोड थियो, जसले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍यायो।

त्यो साझा इतिहासको विरासत आज पनि जीवित छ र हामीबीचको लामो, मैत्रीपूर्ण सम्बन्धमा परिलक्षित हुन्छ।

मन्त्री देउवासँगको छलफलमा हामीले सगरमाथा क्षेत्रको विकास र शिक्षाको लागि हिलारीद्वारा स्थापना गरिएको हिमालयन ट्रस्टलाई न्यूजील्याण्डले ७० वर्षभन्दा बढी समयदेखि दिँदै आएको समर्थनबारे चर्चा गर्यौं।

हामीबीच विकास र शिक्षामा लामो समयदेखिको सहकार्यबारे पनि छलफल भयो। कोलम्बो योजनाअन्तर्गत सुरु भएको सहयोग र विभिन्न छात्रवृत्तिहरूमार्फत, नेपाली विद्यार्थीहरू ७० वर्षभन्दा बढी समयदेखि न्यूजील्याण्डमा अध्ययन गर्दै आएका छन्। शिक्षा क्षेत्रमा सहकार्य हाम्रो द्विपक्षीय सम्बन्धको एक महत्वपूर्ण पक्ष हो, र हामी यसलाई अझ मजबुत बनाउँदै लैजानेछौं।

हामीले आगामी तीन वर्षभित्र नेपालमा विकास परियोजनाहरू र छात्रवृत्तिका लागि न्यूजील्याण्डले २५ लाख न्यूजील्याण्ड डलर योगदान दिने प्रतिबद्धता पनि घोषणा गरेका छौं।

हामीले जलवायु परिवर्तनको मुद्दामा नेपालले खेलेको सकारात्मक भूमिकालाई सराहना गर्‍यौं, र नेपालले Global Green Growth Institute मा न्यूजील्याण्डले दिएको १५ मिलियन डलरको योगदानबाट लाभ लिन सक्ने उल्लेख गर्यौं।

आज बिहान हामीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग पनि भेटवार्ता गर्न पायौं।

यी भेटघाटहरूमा हामीले क्षेत्रीय र विश्व सुरक्षा सम्बन्धी साझा चासोबारे चर्चा गर्यौं, र संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालले पुर्‍याएको महत्वपूर्ण सैनिक योगदानको कदर गर्यौं।

हामीले बहुपक्षीयताप्रतिको न्यूजील्याण्डको प्रतिबद्धता र नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीलाई संरक्षण गर्न सहकार्य गर्नुपर्ने आवश्यकताबारे पनि छलफल गर्यौं।

विश्वव्यापी व्यापार र आर्थिक प्रणालीमा परिरहेका विभिन्न दबाबहरूबारे र द्विपक्षीय सहकार्य कसरी सुदृढ गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भयो।

हामीले पर्यटन र व्यापार प्रवर्द्धनका लागि नेपाल र न्यूजील्याण्डबीच चाँडै नै हवाई सेवा सम्झौता (Air Services Agreement) गर्ने आकांक्षा राखेको कुरालाई पनि चर्चा गर्यौं।

न्यूजील्याण्ड सरकारले दक्षिण र दक्षिणपूर्वी एसियासँगको सम्बन्धलाई अझ सशक्त बनाउने प्रतिबद्धता लिएको छ, र हामी नेपाललाई यस क्षेत्रका हाम्रो सबैभन्दा पुराना र घनिष्ठ साझेदारहरूमध्ये एकको रूपमा हेर्छौं।

फेरि एकपटक मन्त्री देउवा, नेपाल सरकार र नेपाली जनतालाई हाम्रो प्रतिनिधिमण्डललाई अतिथ्य सत्कार गरिदिनु भएकोमा हार्दिक धन्यवाद, र हाम्रो मित्रवत् र सकारात्मक सम्बन्धलाई निरन्तरता दिएकोमा आभार प्रकट गर्दछु।

धन्यवाद।