आज र भोलिका दिनहरू न्यूजील्याण्डभर मौसम प्रतिकूल रहने अनुमान गरिएको छ। देशका विभिन्न भागहरूमा भारी वर्षा, चट्याङ, तेज हावा र केन्टरबरी क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको मेटसर्भिस (MetService) ले जनाएको छ।
तस्मान समुद्रमाथिको न्यूनचापीय प्रणाली दक्षिणपूर्वतर्फ सर्दै छ र बुधबार राति उत्तर दक्षिण टापु पार गर्दैछ। यस प्रणालीका कारण देशभर चरम मौसमी प्रभाव पर्नेछ।
मेटसर्भिसले आज बिहानसम्म २१ स्थानमा गम्भीर मौसम चेतावनी तथा अवलोकन (warning and watch) जारी गरेको छ। यसमा भारी वर्षा, तेज हावा र केही क्षेत्रमा हिमपातसमेत समावेश छन्।
यी क्षेत्रमा चेतावनी:
-
तस्मान जिल्ला (मोटुएकाको पश्चिम): बिहान ६ बजेदेखि राति १० बजेसम्म भारी वर्षाको सम्भावना, चट्याङ पनि हुन सक्ने।
-
तारानाकी माउंगा: बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म भारी वर्षा, दिउँसोतिर चट्याङको सम्भावना।
-
मार्लबोरो (रिचमण्ड रेन्जको उत्तरपश्चिम) र नेल्सन (पूर्वी भूभाग): बिहान ९ बजेदेखि मध्यरातसम्म निरन्तर वर्षा।
-
उत्तर ताइहापे, टाउपोको दक्षिण र ताउमारुनुई: बिहान १० बजेदेखि मध्यरातसम्म वर्षा, साँझतिर चट्याङ हुने सम्भावना।
-
तारारुआ रेन्ज: बिहान ११ बजेदेखि राति ११ बजेसम्म भारी वर्षा।
-
बेप अफ प्लेण्टी (व्हाकाटानेको पूर्व) र इनल्याण्ड गिजबोर्न/तैराबाटी: राति ८ बजेदेखि बिहिबार बिहान ६ बजेसम्म निरन्तर वर्षा।
केन्टरबरीमा हिमपातको सम्भावना
न्यूनचापीय प्रणालीले देश पार गरेपछि दक्षिण टापुमा चिसो साउदर्ली हावा फैलिनेछ, जसले केन्टरबरी क्षेत्रमा भारी हिमपात निम्त्याउने सम्भावना रहेको छ। स्थानीय बासिन्दाहरूलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न मेटसर्भिसले अनुरोध गरेको छ।
मेटसर्भिसले सडक यातायात, हवाई उडान र अन्य बाह्य क्रियाकलापहरूमा असर पर्ने भएकाले जनतालाई यात्रा योजना पुनः मूल्यांकन गर्न र आपतकालीन तयारीमा रहन सुझाव दिएको छ।


