Covid-19 Response Team को मुख्य सल्लाहकारमा डा. रमिल अधिकारी – New Zealand News Nepal (NZ News Nepal)

Covid-19 Response Team को मुख्य सल्लाहकारमा डा. रमिल अधिकारी

   January 13, 2022  

न्युजिल्यान्ड सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतको “कोभिड–१९ रेस्पोन्स टिम“ को मुख्य सल्लाहकारमा डा.रमिल अधिकारीलाई नियुक्त गरेको छ । न्युजिल्यान्डको स्वास्थ्य व्यवस्थाको अब्बल ज्ञान, रणनीति एवं राजनीतिक तहमा अनुभव तथा यस क्षेत्रमा काम गर्नेहरूलाई सीप र प्रेरणा दिन सकिने व्यक्तिलाई प्रदान गरिने स्वास्थ्य मन्त्रालयकाे यो जिम्मेवारीलाई उच्च महत्व र गरिमाका साथ लिइने गरिन्छ । न्युजिल्याण्डका लागि नेपाल सरकार संस्कृति, पर्यटन एवम् नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डको पर्यटन प्रवर्द्धन दूत समेत रहनु भएका डा रमिल कोभिडको महामारी बिचमा स्वास्थ्य मन्त्रालयको यस प्रकारको उच्च नेतृत्वदायी भूमिकमा पुग्नु सम्पूर्ण नेपालीहरू एवं दक्षिण एसियाली मूलका न्युजिल्यान्डबासीको गर्व एवं प्रतिष्ठाको विषय हाे ।
स्वास्थ्य मन्त्रालयका गतिविधि तथा कोभिड नियन्त्रणमा सरकारको प्रभावकारी भूमिका निर्वाह गर्न महत्वपूर्ण मार्गदर्शन एवं परिचालनमा डा. रमिल जिम्मेवार हुने आशा गरिएको छ । “विगतका अनुभव, विषेशतः सामुदायिक देखि नेतृवदायी भूमिका, शैक्षिक ज्ञान, सरकारी एवं गैह्र सरकारी संस्थाहरूसँगको सम्बन्ध तथा जनस्वास्थ्यको क्षेत्रमा सफलतापूर्वक समुदायमा स्वास्थ्य सेवा प्रदान गर्ने अठोटका कारणले नै स्वास्थ्य मन्त्रालयले मलाई विश्वास गरेको हुन सक्ने, ” डा रमिल अधिकारी बताउँनुभयाे । चिकित्सक पेशाका डा. रमिल एक दशक यता न्युजिल्यान्डमा जनस्वास्थ्यको क्षेत्रमा सक्रिय रहनु भएको छ । उहाँ पब्लिक हेल्थ एसोसिएसन न्युजिल्यान्ड वेलिङ्टनको अध्यक्ष तथा मेसी विश्वविद्यालयको अनुसन्धानमा पनि संलग्न हुनुहुन्छ भने न्युजिल्यान्डमा रहेका विभिन्न नेपाली संस्थाहरूको नेतृत्वदायी तथा सल्लाहकारको भूमिकामा पनि क्रियाशील हुनुहुन्छ । न्युजिल्यान्ड सरकार स्वास्थ्य मन्त्रालयको उद्धेश्य अनुसार आफूले काम गर्ने डा.अधिकारीले बताउनुभयाे । एक फरक प्रसङ्गमा डा.अधिकारीले नेपालको पोखरा सहर र न्युजिल्यान्डको अप्पर हट सिटी, वेलिङटन बिच भगिनी सम्बन्धलाई मूर्त रुप दिन वेलिङटनमा नेपाली संस्कृति र पर्यटन प्रबर्द्धन फोरम न्युजिल्याण्डका प्रतिनिधिहरुसँग अपर हट सिटी काउन्सिलमा बैठक सम्पन्न भएको बताउँदै पोखरा महानगरपालिका पनि दुई शहर बिचको भगिनी सम्बन्ध बनाउन सकारात्मक भएको र निकट भविष्यमा छलफल गरी आपसी सहमतिमा प्रकृयालाई अगाडि बढाइने पनि डा अधिकारीले बताउनु भयो ।