न्युजील्याण्डमा जाडो सुरु भएसँगै कोरोना संक्रमणको जोखिम बढ्दो, एक हप्तामा ९५० संक्रमित थपिए – New Zealand News Nepal (NZ News Nepal)

न्युजील्याण्डमा जाडो सुरु भएसँगै कोरोना संक्रमणको जोखिम बढ्दो, एक हप्तामा ९५० संक्रमित थपिए

   June 11, 2025  

नयाँ कोरोना भाइरस भेरियन्टले भारतलगायतका विभिन्न मुलुकहरूमा असर पारिरहेकै बेला यसको प्रभाव न्युजील्याण्डमा पनि देखिन थालेको छ। पछिल्लो एक हप्ताको अवधिमा न्युजील्याण्डमा ९५० नयाँ कोरोना संक्रमित थपिएको न्युजील्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त अवधिमा कोरोना संक्रमणका कारण ७ जनाले ज्यान गुमाएका छन्।

हालसम्म न्युजील्याण्डमा कूल २७ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने ४,६६५ जनाको ज्यान गएको छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार हाल फैलिरहेको नयाँ भेरियन्ट बढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ। संक्रमणदर बढ्न थालेपछि जोखिम मूल्यांकन र सार्वजनिक स्वास्थ्य उपायहरू कडाइका साथ लागू गर्नुपर्ने आवाज उठ्न थालेको छ। न्युजील्याण्डमा जाडो याम सुरु भएसँगै कोरोना भाइरसको प्रभाव अझ बढ्न सक्ने संकेत देखिएको छ। देशको स्वास्थ्य मन्त्रालयले मौसम परिवर्तनसँगै संक्रमणको दर वृद्धि हुन सक्ने चेतावनी दिएको छ।

मन्त्रालयका अनुसार चिसो मौसममा घरभित्रको भीड, हावापानीको अवस्था र कमजोर प्रतिरक्षा प्रणालीका कारण कोरोना भाइरसको संक्रमण फैलिने जोखिम उच्च रहने गर्दछ।

सामान्य लक्षण देखिए पनि परीक्षण गराउने, भिडभाडबाट जोगिने र खोप लगाउने उपायमार्फत संक्रमण फैलिन नदिन सबै नागरिकलाई आग्रह गरिएको छ।
जाडो मौसममा अन्य श्वासप्रश्वास सम्बन्धी रोगहरू पनि देखिने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।