न्यूजील्याण्ड सरकारले चिनियाँ पर्यटकलाई आकर्षित गर्न भिसा नीतिमा ठूला सुधार गर्दैछ। सन् २०२५ नोभेम्बरदेखि अस्ट्रेलियाबाट वैध पर्यटक, छात्र, कामदार वा पारिवारिक भिसा भएका चिनियाँ नागरिकलाई न्यूजील्याण्ड प्रवेशका लागि ३ महिनासम्म भिसा नचाहिने व्यवस्था परीक्षणका रूपमा लागू गरिनेछ।
आप्रवासन मन्त्री एरिका स्टानफोर्डका अनुसार, “हाम्रो आप्रवासन नीति देशको आर्थिक भविष्य उज्यालो बनाउन महत्वपूर्ण छ। सन् २०२४ मा २ लाख ४० हजारभन्दा बढी चिनियाँ पर्यटक भिसा जारी गरिएको थियो र हामी यो संख्या अझै बढाउन चाहन्छौं।” मन्त्रीले यो नयाँ व्यवस्था चिनियाँ पर्यटकका लागि न्यूजील्याण्ड यात्रा सजिलो, छरितो र सस्तो बनाउने दाबी गरिन्।
१२ महिनासम्म लागू हुने यो परीक्षण योजनासँगै अन्य सुधारहरू पनि ल्याइनेछ, जसमध्ये मुख्य हुन्:
- चिनियाँ ‘Approved Destination Status’ ट्राभल एजेन्सीका लागि चीनमै समर्पित सम्पर्क केन्द्र स्थापना
- आप्रवासन विभाग (INZ) को वेबसाइटमा सरल चिनियाँ भाषामा सामग्री उपलब्ध
- अबदेखि पर्यटक भिसाका लागि अनुवाद गरिएको कागजात प्रमाणीकरण आवश्यक नपर्ने व्यवस्था, जसले अनावश्यक खर्च हटाउनेछ।
यी सुविधाहरू पाँच वर्षे बहुप्रवेशीय पर्यटक भिसा र चीनबाट आउने पर्यटक भिसा आवेदकको औसत पाँच कार्यदिवसको प्रक्रिया समयसँग मेल खाने गरी थपिएका हुन्।
पर्यटन तथा आतिथ्य सेवा मन्त्री लुइस अप्सटनले भनिन्, “चीन न्यूजील्याण्डको एक प्रमुख पर्यटन बजार हो। चिनियाँ पर्यटकको वृद्धि अर्थतन्त्रका लागि प्रत्यक्ष फाइदाजनक हुन्छ — होटल, रेस्टुरेन्ट, पर्यटकीय गन्तव्यहरूमा बढी चहलपहल, रोजगारीका अवसर र समग्रमा आर्थिक विकासमा योगदान दिन्छ।”
मार्च २०२५ मा सम्पन्न आर्थिक वर्षमा चिनियाँ पर्यटकले न्यूजील्याण्डको अर्थतन्त्रमा १.२४ अर्ब डलर योगदान गरेका थिए। मन्त्रीले यो आँकडा अझै बढाउन सकिने सम्भावना रहेको र त्यसतर्फ सरकार अग्रसर रहेको बताइन्।


