विदेशीलाई न्यूजील्याण्डको स्थायी आवास (रेसिडेन्सी) दिने उद्देश्यले सरकारले ल्याएको ‘गोल्डेन भिसा’ योजनामा उल्लेखनीय चासो देखिएको छ। अप्रिल २०२५ मा सरकारले यो योजना सार्वजनिक गर्दै नियमहरू परिमार्जन गरेपछि, हालसम्म १८९ आवेदनहरू प्राप्त भइसकेका छन्।
इमिग्रेशन न्यूजील्याण्डका अनुसार, २३ जुन २०२५ सम्मको तथ्यांकअनुसार १८९ वटा आवेदन परेका छन्, जुन अघिल्लो नीतिगत संरचनाको तुलनामा निकै उच्च हो। सरकारी तथ्यांकअनुसार, हालसम्म १०० आवेदनलाई सैद्धान्तिक स्वीकृति (Approval In Principle) दिइसकिएको छ। तीमध्ये ७ जनाले आफ्नो लगानी रकम स्थानान्तरण गरी न्यूजील्याण्डमा लगानी गरिसकेका छन् र स्थायी आवास भिसा प्राप्त गरेका छन्।
सरकारले यो योजनामा दुईवटा प्रमुख श्रेणीहरू समावेश गरेको छ:
१. ग्रोथ श्रेणी (Growth Category)
न्यूनतम ५ मिलियन डलरको लगानी अनिवार्य, ३ वर्षको अवधिमा लगानी, उच्च जोखिम भएका क्षेत्रहरूमा (जस्तै: म्यानेज्ड फन्ड वा सिधा व्यवसायिक लगानी)
२. ब्यालेन्स्ड श्रेणी (Balanced Category)
न्यूनतम १० मिलियन डलरको लगानी अनिवार्य, ५ वर्षको अवधिमा लगानी, कम जोखिम भएका लगानी विकल्पहरू रोज्न मिल्ने
यसअघि लागू रहेको नीतिमा १५ मिलियन डलरको लगानी आवश्यक थियो, तर त्यस अन्तर्गत बन्ड र प्रोपर्टीमा लगानीको अनुमति थिएन।
हालसम्म ५ जना ग्रोथ श्रेणीमा, २ जना ब्यालेन्स्ड श्रेणीमा लगानीकर्ताहरू रहेका छन्।
सरकारका अनुसार, ती ७ लगानीकर्ताबाट प्राप्त कूल न्यूनतम लगानी ४५ मिलियन न्यूजील्याण्ड डलर बराबरको रहेको छ।


