South Island हुँदै देशभर भारी वर्षा र हावा हुरी ल्याउने मौसमी प्रणाली सक्रिय भएपछि न्यूजील्याण्डभर मौसम चेतावनी र सतर्कता बढाइएको छ।
मेटसर्भिसले बुधवारदेखि टास्मन जिल्लाको मोतुएकाको उत्तर-पश्चिम, क्यान्टरबरी र ओटागोका ताल र नदीको मुख्य मुहान, वेस्टल्यान्डको पहाडी क्षेत्र र डाउटफुल साउन्डको उत्तरस्थित फिओर्डल्यान्डका लागि भारी वर्षा चेतावनी जारी गरेको छ। यसले सडक यातायात मात्र होइन, हवाई सेवा समेत प्रभावित हुन सक्ने मौसम विभागले जनाएको छ।
विशेष गरी टास्मन जिल्लाको मोतुएकाको उत्तर-पश्चिम क्षेत्रमा सबैभन्दा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। बुधवार मध्यरातदेखि सुरु हुने वर्षाले बिहीबार दिउँसोदेखि उच्च दरमा २० देखि ३० मिलिमिटर प्रति घण्टा वर्षा गराउने सम्भावना छ। यस क्षेत्रमा कुल ३०० मिलिमिटरसम्म वर्षा हुन सक्नेछ र मेघ गर्जनसहितको वर्षाको सम्भावना छ।
मेटसर्भिसले वर्षा कति समयसम्म जारी रहने भन्नेमा अझै अनिश्चितता रहेको भन्दै अरेन्ज चेतावनी रातो (Red) मा परिवर्तन हुन सक्ने सम्भावना मध्यम रहेको जनाएको छ।
टास्मन डिस्ट्रिक्ट काउन्सिलका अनुसार बिहीबार दिउँसोबाट पश्चिमी क्षेत्रमा भीषण वर्षा सुरु भई शुक्रबार बिहानसम्म नेल्सन र रिचमन्ड पछाडि पर्ने पहाडसम्म फैलिनेछ।
हाइड्रोलोजी टोलीले यो मध्यम खालको बाढीको घटना देखिए पनि गड्याङ्गुडुङ्गे मेघगर्जनसहित वर्षा हुन सक्ने भएकाले अपेक्षा भन्दा बढी बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ।
वाका कोटाहीले South Island को माथिल्लो भागतर्फ यात्रा गर्ने चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेष गरी टाकाका र गोल्डेन बे हुँदै जाने स्टेट हाइवे 60 मा मौसम प्रतिकूल हुन सक्ने जनाइएको छ।


