‘काँटा लगा’ अभिनेत्री शेफाली जरिवालाको हृदयघातका कारण निधन – New Zealand News Nepal (NZ News Nepal)

‘काँटा लगा’ अभिनेत्री शेफाली जरिवालाको हृदयघातका कारण निधन

   June 28, 2025  

लोकप्रिय भारतीय अभिनेत्री र ‘बिग बोस १३’ की सहभागी शेफाली जरिवालाको निधन भएको छ। ४२ वर्षको उमेरमा उनको हृदयघातका कारण मृत्यु भएको बेल्भ्यू मल्टिस्पेसालिटी अस्पताल, मुम्बईले पुष्टि गरेको छ,

केही समयअघि मात्र उनी न्यूजील्याण्ड भ्रमणमा आएकी थिइन्। उनले अक्ल्याण्ड, वेलिङ्टन, क्विन्सटाउन लगायतका प्रमुख शहरहरू घुमेकी थिइन्। सामाजिक सञ्जालमा उनले न्यूजील्याण्ड भ्रमणका रमाइला क्षणहरूका तस्बिर र भिडियोहरू शेयर गरेकी थिइन्।

प्राप्त जानकारी अनुसार, जुन १० तारिखको राति अचानक हृदयघात भएपछि उनका श्रीमान् र तीन जना साथीसँगै उनलाई तुरुन्तै अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याइएलगत्तै उपचार थालिएको भए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। निधन घोषणा भएपछि उनको शव पोस्टमार्टमका लागि कूपर अस्पताल लगिएको जनाइएको छ।

हालसम्म परिवार वा स्वास्थ्य संस्थाले कुनै आधिकारिक वक्तव्य सार्वजनिक गरेका छैनन्। घटनाको थप विवरण बाहिर आउन बाँकी नै छ।

शेफाली जरिवाला सन् २००२ मा सार्वजनिक भएको सुपरहिट म्युजिक भिडियो ‘काँटा लगा’ बाट चर्चामा आएकी थिइन्। त्यसपछि उनले थुप्रै टेलिभिजन शोहरू र रियालिटी कार्यक्रमहरूमा सक्रिय उपस्थिति जनाउँदै आएकी थिइन्। ‘बिग बोस १३’ मा उनको सहभागिताले समेत उनलाई थप लोकप्रियता दिलाएको थियो।

शेफालीको अकाल निधनले भारतीय मनोरञ्जन उद्योगमा शोकको लहर छाएको छ।