मौसमका कारण नेल्सन तास्मन क्षेत्रमा आपतकाल घोषणा – New Zealand News Nepal (NZ News Nepal)

मौसमका कारण नेल्सन तास्मन क्षेत्रमा आपतकाल घोषणा

   July 10, 2025  

बिहीबार दिउँसो ४:४७ बजे तास्मनका मेयर टिम किङले नेल्सन तास्मन क्षेत्रका लागि आपतकालीन अवस्था घोषणा गरेका छन्। यो कदम हालैको भीषण मौसमपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै पूर्व-सावधानीका रूपमा लिइएको हो, नेल्सन तास्मन सिभिल डिफेन्सले जानकारी दिएको छ।

आजको खराब मौसमका कारण नेल्सनबाट आउने र जाने धेरै उडानहरू रद्द भएका छन्। एयर न्यूजील्याण्डले जनाएको छ कि दक्षिण द्वीपको नेल्सन सहर र अकल्याण्ड, वेलिङ्टन तथा क्राइस्टचर्चबीचका धेरै उडानहरू रद्द गरिएका छन्।

वेलिङ्टन विमानस्थलका अनुसार आज नेल्सन र राजधानीबीच कम्तिमा १३ उडानहरू रद्द भइसकेका छन्।

मेटसर्भिसका मौसमविद् ब्रेडन ह्वाइटका अनुसार, नेल्सन विमानस्थल वरपर बाक्लो तल्लो बादल मडारिएको छ, जसले उडानहरूमा प्रत्यक्ष असर गरिरहेको छ। उनका अनुसार आज दिनभर मौसम कहिले राम्रो त कहिले बिग्रँदै आएको थियो, तर दिउँसो ३ बजेपछि स्थिती अझ बिग्रिएको हो।

एयर न्यूजील्याण्डले आरएनजेडलाई दिएको जानकारी अनुसार, यात्रुहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइएको छ र रद्द गरिएका उडानका यात्रुहरूलाई उपलब्ध अर्को उडानमा समायोजन गरिँदैछ।

यात्रुहरूलाई एयर न्यूजील्याण्डको मोबाइल एप हेर्दै आफ्नो उडानसम्बन्धी सबैभन्दा नयाँ जानकारी लिन सुझाव दिइएको छ।