MetService को चेतावनी, ‘मंगलबार यी क्षेत्रहरूमा अति भारी वर्षा हुने’ – New Zealand News Nepal (NZ News Nepal)

MetService को चेतावनी, ‘मंगलबार यी क्षेत्रहरूमा अति भारी वर्षा हुने’

   July 27, 2025  

न्यूजील्याण्डमा सक्रिय मौसमी प्रणाली प्रवेश गरेसँगै देशका विभिन्न भागहरूमा व्यापक भारी वर्षा र तेज हावाहुरीको सम्भावना बढेको छ। मौसम पूर्वानुमान गर्ने निकाय MetService ले सोमबार रातिदेखि मंगलबारसम्मका लागि देशका विभिन्न भागहरूमा चेतावनी र निगरानी सूचना जारी गरेको छ।

“अरेन्ज” भारी वर्षा चेतावनी टारानाकी मौंगा, टास्मान (मोटुएकाको पश्चिम र पूर्व भाग), नेल्सन, मार्लबरो र वेस्टल्यान्ड रेन्जका लागि जारी गरिएको छ। यी क्षेत्रमा १८० मिमीसम्म वर्षा हुन सक्ने र प्रति घण्टा २५ मिमीसम्मको तीव्र गतिमा पानी पर्न सक्ने अनुमान गरिएको छ।

MetService का अनुसार यस भारी वर्षाले नदीहरू छिटो बढ्न सक्ने, सतही बाढी आउन सक्ने, पहिरो खस्न सक्ने र सवारीसाधन चलाउन खतरनाक अवस्था सिर्जना हुन सक्ने बताइएको छ।

नेल्सन-टास्मान क्षेत्र अझैपनि जुन अन्त्य र जुलाईको सुरुमा परेको विनाशकारी वर्षा र बाढीबाट उकासिँदै छ।

त्यस्तै भारी वर्षाको निगरानी सूचना (Watch) नर्थल्याण्ड, अकल्यान्ड, कोरोमण्डल, बे अफ प्लेण्टी, सेन्ट्रल नर्थ आइल्याण्डका पहाडी क्षेत्र र दक्षिणी आल्प्स (डिभाइडको पूर्व भाग) का लागि जारी गरिएको छ। विशेषगरी उचाइ भएका स्थानहरूमा चेतावनीस्तरको वर्षा हुन सक्ने सम्भावना रहेको छ।

कडा हावाहुरीको निगरानी नर्थल्याण्ड, अकल्यान्ड, कोरोमण्डल, पूर्वी वाइकाटो, बे अफ प्लेण्टी र टारानाकीदेखि सेन्ट्रल प्लेटेसम्मका भित्री क्षेत्रहरू (वाङ्गानुईसहित) का लागि गरिएको छ। यी स्थानहरूमा हावा धेरै बलियो (severe gale) हुन सक्ने र यसले रुख ढाल्न, पावरलाइन बिगार्न तथा अग्ला सवारीसाधनका लागि सवारी जोखिमपूर्ण बन्न सक्ने बताइएको छ।

MetService ले नागरिकहरूलाई ढल निकास सफा गर्न, घरबाहिरका सामग्री सुरक्षित गर्न, बाढी आउने सम्भावित स्थान टार्न र सवारी चलाउँदा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।