माइकल हिल ज्वेलर्सका संस्थापक सर माइकल हिलको ८६ वर्षको उमेरमा निधन
न्युजील्याण्डका प्रख्यात व्यवसायी तथा संगीतप्रेमी सर माइकल हिलको निधन भएको छ। उनले स्थापना गरेको Michael Hill Jewellers कम्पनीले आज बिहान Arrowtown स्थित आफ्नै घरमा उनको ८६ वर्षको उमेरमा निधन भएको जानकारी दिएको हो।
सर माइकलले यस वर्षको अप्रिलमा क्यान्सरको उपचार गराउन कम्पनीको नेतृत्वबाट सन्यास लिएका थिए।
उनले १९७९ मा ४० वर्षको उमेरमा Whangārei मा आफ्नो पहिलो गहना पसल खोलेका थिए, त्यसअगाडि उनले झण्डै दुई दशक आफ्ना काकाको गहना पसलमा काम गरेका थिए।
आजको मितिमा Michael Hill ज्वेलर्सले न्यूजील्याण्ड, अष्ट्रेलिया र क्यानडामा गरी २८७ शाखा सञ्चालन गरिरहेको छ।
सर माइकललाई व्यवसाय मात्र होइन, संगीतप्रतिको गहिरो लगाव पनि थियो। उनले सन् २०१९ मा news.com.au सँगको अन्तर्वार्तामा आफ्नो सपना “क्लासिकल भायोलिन कन्सर्टिस्ट” बन्ने रहेको बताएका थिए। तर, उनले भनेका थिए:
“मेरा बुबाआमा र काकाले यो मूर्खता त्यागेर ‘साँचो जागिर’ गर्न दबाब दिए।”
त्यसपछि पनि संगीतप्रतिको मोह कम भएन। उनले २००१ मा “Michael Hill International Violin Competition” स्थापना गरे, जुन आज अन्तर्राष्ट्रिय स्तरमा सम्मानित प्रतियोगिता मानिन्छ।
सर माइकललाई २०११ मा व्यवसाय र कला क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै “नाइटहुड” उपाधि प्रदान गरिएको थियो।
उनले Arrowtown को “The Hills” गोल्फ रिसोर्ट मा आफ्नो श्रीमती क्रिस्टिनसँग ६० वर्ष लामो वैवाहिक जीवन बिताए।
सोही गोल्फ कोर्सले NZ Open Golf Tournament पनि आयोजना गर्ने गर्दछ।
Michael Hill कम्पनीका अध्यक्ष Rob Fyfe ले भने,
“सर माइकलले जुनसुकै क्षेत्रमा हात हाले पनि गहिरो उद्देश्य र समर्पणसाथ अगाडि बढ्ने आत्मा बोकेका व्यक्ति थिए।”
उनको निधनले न्यूजील्याण्डले एक प्रेरणादायक उद्यमी, संगीतप्रेमी, र दूरदर्शी व्यक्तित्व गुमाएको छ।


