अमेरिकी गुप्तचर संस्था FBI ले न्यूजील्याण्डमा स्थापना गर्‍यो कार्यालय – New Zealand News Nepal (NZ News Nepal)

अमेरिकी गुप्तचर संस्था FBI ले न्यूजील्याण्डमा स्थापना गर्‍यो कार्यालय

   July 31, 2025  

संघीय अनुसन्धान ब्युरो (FBI) ले न्यूजील्याण्डको राजधानी वेलिङटनमा आफ्नो स्थायी कार्यालय स्थापना गरेको छ। यस कदमले अमेरिका र न्यूजील्याण्डबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ, विशेषगरी दक्षिणपश्चिम प्रशान्त क्षेत्रमा रहेको “Five Eyes” साझेदारबीचको सहकार्यलाई मजबुत पार्न।

FBI का निर्देशक काश पटेल यसै साता न्यूजील्याण्ड आएका थिए र उनले आज अमेरिकी दूतावासमा नयाँ कार्यालयको औपचारिक उद्घाटन गरे। यस कार्यालयमा अबदेखि स्थायी ‘Legat’ (Law Enforcement Attaché) को नियुक्ति गरिनेछ। FBI का अनुसार, उनीहरूले विगत केही वर्षदेखि न्यूजील्याण्डमा कर्मचारी तैनाथ गर्दै आएका थिए, तर अब स्थायी पद स्थापना गरिएको हो।

न्यूजील्याण्ड भ्रमणका क्रममा पटेलले आज बिहान न्यूजील्याण्डका रक्षा मन्त्री जुडिथ कोलिन्स, प्रहरी मन्त्री मार्क मिचेल, र विदेश मन्त्री विन्सटन पीटर्ससँग भेट गरेका थिए। साथै, प्रहरी आयुक्त रिचर्ड चेम्बर्स, सरकारी सञ्चार सुरक्षा ब्युरो (GCSB) का महानिर्देशक एयर भाइस मार्शल एन्ड्रयू क्लार्क, र सुरक्षा गुप्तचर सेवा (SIS) का महानिर्देशक एन्ड्रयू ह्याम्पटनसँग पनि भेटघाट गरेका छन्।

विदेश मन्त्री विन्सटन पीटर्सले FBI निर्देशकसँग ४० मिनेट लामो छलफल भएको पुष्टि गर्दै प्रशान्त क्षेत्रका सुरक्षा चुनौतीहरू, कानून र व्यवस्था, र न्यूजील्याण्ड-अमेरिका सहकार्यबारे विस्तृत रूपमा छलफल भएको जानकारी दिएका छन्।

FBI निर्देशक पटेलले भने, “FBI को न्यूजील्याण्डसँग लामो समयदेखि गहिरो सहकार्य रहँदै आएको छ। वेलिङटन कार्यालयको विस्तारले हाम्रो साझेदारीको मजबुती र विकासलाई प्रतिबिम्बित गर्छ, किनकि हामीले क्षेत्रीय सुरक्षा लक्ष्यहरूमा मिलेर काम गरिरहेका छौं।”

यो कदमले न्यूजील्याण्ड र अमेरिकाबीचको रणनीतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।