न्यूजील्याण्डको बेरोजगारी दर ५.२ प्रतिशतमा पुगेको छ, जुन सन् २०२० को महामारीकालपछि अहिलेसम्मकै उच्च दर हो। स्ट्याट्स एनजेडका अनुसार, २०२५ को दोस्रो त्रैमासिकमा (अप्रिल–जुन) २ हजार रोजगारी गुमेका छन् र बेरोजगार व्यक्तिको संख्या गत वर्षको तुलनामा १६ हजारले बढेको छ।
यो दर अघिल्लो त्रैमासिकको ५.१ प्रतिशतभन्दा पनि बढी हो। कमजोर अर्थतन्त्रका कारण धेरै व्यवसायहरूले नयाँ कर्मचारी भर्ना नगरेको वा पुराना कर्मचारी हटाएको देखिएको छ।
यसैबीच, वार्षिक तलब वृद्धिदर पनि घट्दै २.९ प्रतिशतबाट २.४ प्रतिशतमा झरेको छ। युवाहरूको उल्लेख्य संख्या शिक्षामा फर्किएको वा अध्ययन जारी राखेको पाइन्छ।
सरकारले भने बेरोजगारीदर घटाउने प्रतिवद्धता जनाएको छ। अर्थमन्त्री निकोला विलिसले बेरोजगारी दर चित्तबुझ्दो नभएको स्वीकार गर्दै वर्षको अन्त्यसम्म सुधार हुने अपेक्षा व्यक्त गरिन्।
विश्लेषकहरूका अनुसार, रिजर्भ बैंक अफ न्यूजील्याण्ड (RBNZ) ले आर्थिक अवस्था सहज बनाउन आगामी दुई हप्ताभित्र नगद दर (cash rate) घटाउन सक्ने सम्भावना छ।


