न्यूजील्याण्डमा कृषि, वन र पर्यटन क्षेत्रका लागि दुई नयाँ सिजनल वर्क भिसा सुरु गर्ने घोषणा – New Zealand News Nepal (NZ News Nepal)

न्यूजील्याण्डमा कृषि, वन र पर्यटन क्षेत्रका लागि दुई नयाँ सिजनल वर्क भिसा सुरु गर्ने घोषणा

   August 10, 2025  

न्यूजील्याण्ड सरकारले कृषि, वन तथा पर्यटनजस्ता क्षेत्रलाई सहयोग गर्न दुई नयाँ वर्क भिसा सुरु गर्ने घोषणा गरेको छ । आवेदन यस वर्ष डिसेम्बर ८ देखि खुल्नेछन्।

पीक सिजनमा देखिने श्रमिक अभाव समाधान गर्न न्यूजील्याण्ड सरकारले Accredited Employer Work Visa (AEWV) ढाँचाअन्तर्गत दुई नयाँ भिसा सुरु गर्ने भएको छ Global Workforce Seasonal Visa (GWSV) र Peak Seasonal Visa (PSV)। यी दुवै भिसाको आवेदन ८ डिसेम्बर २०२५ देखि खुल्नेछ।

आप्रवासन मन्त्री एरिका स्ट्यानफोर्डले ग्लोबल वर्कफोर्स सिजनल भिसाको घोषणा गर्दै यस भिसा विशेषीकृत र उच्च दक्षता भएका कामदारहरूलाई आकर्षित गर्न लक्षित भएको बताइन्। यो भिसा तीन वर्षको हुनेछ र भिसाधारीले उक्त अवधिमा जति पटक न्यूजील्याण्ड प्रवेश गर्न सक्नेछन्। तर, प्रत्येक १२ महिनामा कम्तीमा तीन महिना विदेशमा बिताउनुपर्नेछ। यस भिसाका धारकहरू सार्वजनिक स्वास्थ्य सेवामा समेत पहुँच पाउनेछन्।

Global Workforce Seasonal Visa (GWSV)
यो भिसा सिजनल पदका लागि हो र अधिकतम ३ वर्षको लागि मान्य हुनेछ। आवेदकले विगत ६ वर्षमा कम्तीमा ३ सिजन त्यस्तो भूमिकामा काम गरेको अनुभव हुनुपर्छ। नियोक्ताले सिजनल भूमिकाको जब चेक पास गरेपछि मात्र कामदारले भिसाको लागि आवेदन दिन पाउनेछन्। भिसा धारकले हरेक वर्ष कम्तीमा ३ महिना न्यूजील्यान्ड बाहिर बिताउनुपर्नेछ।
यस भिसामा श्रम बजार परीक्षण वा अंग्रेजी भाषाको आवश्यकता छैन र अन्य भिसामा रूपान्तरण गर्न सकिनेछ। यसअन्तर्गतका भूमिकामा कृषि तथा बगैंचाको मेसिन अपरेटर, वाइन मेकर, चेयरलिफ्ट अपरेटर, स्नो स्पोर्ट्स इन्स्ट्रक्टर, व्हाइटवाटर राफ्टिङ गाइड, आउटडोर एडभेन्चर प्रशिक्षक, प्राथमिक उत्पादन निरीक्षक, सियरर, स्लटरर, ट्युलिप ग्रोवर लगायतका पद समावेश छन्।

स्ट्यानफोर्डले अर्को पिक सिजनल भिसा पनि घोषणा गरिन्, जसले अल्पकालीन कृषि र जलकृषि (Aquaculture) क्षेत्रमा काम गर्न कामदारहरूलाई सात महिना बस्न अनुमति दिनेछ। यस भिसाका लागि मासु तथा समुद्री खानेकुरा प्रशोधन, बाछा हुर्काउने, र ऊन प्रशोधनजस्ता काम योग्य हुनेछ । आवेदकसँग कम्तीमा एक सिजनको सम्बन्धित अनुभव हुनुपर्नेछ र भिसा नवीकरण गर्नुअघि कम्तीमा चार महिना देश बाहिर बस्नुपर्नेछ।

Peak Seasonal Visa (PSV)
यो भिसा प्रारम्भिक वा कम-कौशल भएका सिजनल पदका लागि हो र अधिकतम ७ महिनासम्म मान्य हुनेछ। समय सीमा पुगेपछि पुनः आवेदन दिन ४ महिना पर्खिनुपर्नेछ। आवेदकसँग विगत ३ वर्षमा कम्तीमा १ सिजनको सम्बन्धित अनुभव हुनुपर्नेछ र व्यापक स्वास्थ्य बीमा आवश्यक हुनेछ। यसमा पनि अंग्रेजी भाषाको आवश्यकता छैन, तर नियोक्ताले Work and Income मार्फत संलग्न वा अनुमोदित हुनुपर्नेछ।
यसअन्तर्गतका भूमिकामा माछापालन (मसल वा ओइस्टर फार्म) कामदार, बाछा पालक, डेरी, वन मजदुर, मासु प्रोसेसिङ कामदार, वाइनरी सेलर ह्यान्ड, ऊन ह्यान्डलर आदि पर्छन्।

दुवै भिसा अन्तर्गतका धारकले आफ्नो परिवारलाई साथमा ल्याउन वा आश्रित भिसा लिन सक्ने छैनन्। उनीहरूले समान भिसा प्रकारभित्र मात्र काम परिवर्तन गर्न पाउनेछन्। विद्यार्थी वा अन्य काम भिसाबाट रूपान्तरण गर्दा नयाँ भिसा प्रक्रिया भइरहँदा अस्थायी काम गर्ने अधिकार कायम रहनेछ।

मन्त्रीका अनुसार व्यवसायहरूले व्यस्त सिजनमा कामदार संख्या छिटो बढाउन सहज उपायको माग गर्दै आएका थिए। पिक सिजनल भिसा कम दक्षता भएका कामदारका लागि लक्षित भए पनि, यी पदहरूका लागि पहिलो प्राथमिकता स्थानीय कामदारलाई नै दिने र त्यसपछि मात्र विदेशी कामदार ल्याउने व्यवस्था गरिएको छ।