न्युजिल्याण्ड र नेपालबाट संयुक्त रुपमा सञ्चालित न्युजिल्याण्डकै पहिलो नेपाली भाषाको अनलाइन न्युज पोर्टल न्युजिल्याण्ड न्युज नेपाल (NZ News Nepal) आजदेखि आफ्नो पाँचौँ वर्षमा प्रवेश गरेको छ।
सन् २०२१ अगस्ट २५ मा डिजिटल प्रकाशनको औपचारिक सुरुवात गरेको यस अनलाइनमार्फत न्युजिल्याण्डका समाचार नेपाली भाषामा, नेपालका समाचार तथा विश्वभरका गतिविधि पढ्न सकिन्छ।
नेपालमा रेडियो र अनलाइन पत्रकारितामा संलग्न बिराटनगरका आशिष भट्टराईले यस अनलाइनको स्थापना गर्नुभएको हो। हाल उहाँ NZ News Nepal का निर्देशक हुनुहुन्छ। सन् २०१९ मा यहाँ कुनै नेपाली अनलाइन न्युज पोर्टल नभएको देखेर उहाँले यसलाई सुरुवात गर्नुभएको थियो।
सन् २०२० यता विभिन्न फेसबुक पेजमार्फत न्युजिल्याण्डका गतिविधि नेपाली भाषामा प्रस्तुत भए पनि दर्ता प्रक्रियाका कारण औपचारिक संचालन भने २०२१ देखि सुरु भएको हो। विशेषगरी कोरोना महामारीको समयमा न्युजिल्याण्डमा भएका गतिविधि, दैनिक संक्रमण विवरण, लकडाउन, सरकारी नीति तथा योजनाहरू नेपाली भाषामा प्रस्तुत गर्दै यस अनलाइनले नेपाली समुदायलाई आवश्यक जानकारी पुर्याएको थियो।
हाल समाचार संयोजकका रूपमा पत्रकार सुष्मा बराइली, सम्पादकमा अष्ट्रेलियास्थित सिद्धान्त धिताल, सल्लाहकारमा बेलायत निवासी अभिषेक उप्रेती तथा नेपालस्थित न्युज डेस्कमा निरज काफ्ले, दिलीप खड्का र अन्जली शाह संलग्न रहँदै निरन्तर सहयोग पुर्याइरहनुभएको छ।
गत चार वर्षमा NZ News Nepal ले न्युजिल्याण्डमा डिजिटल मिडियालाई व्यावसायिक र विश्वासिलो रुपमा स्थापित गर्ने यात्रामा महत्वपूर्ण योगदान दिएको छ। विशेषगरी न्युजिल्याण्डका गतिविधि नेपाली भाषामा पढ्न पाउँदा यहाँको नेपाली समुदायमा उत्साह देखिएको छ।
पाँचौँ वर्ष प्रवेशको अवसरमा संपूर्ण पाठक, शुभेच्छुक तथा व्यावसायिक संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै, निरन्तर सहयोग र विश्वासले नै आगामी यात्रामा अझ सशक्त रुपमा अघि बढ्ने प्रेरणा मिलेको NZ News Nepal ले जनाएको छ।


