दशैँ आउन अब २६ दिन मात्र बाँकी, न्यूजिल्याण्डमा टीका अक्टोबर २ मा – New Zealand News Nepal (NZ News Nepal)

दशैँ आउन अब २६ दिन मात्र बाँकी, न्यूजिल्याण्डमा टीका अक्टोबर २ मा

   August 27, 2025  

यो वर्ष २०८२ सालका चाडपर्वहरु क्रमिक रुपमा सुरु भइसकेका छन्। हरितालिका तीज सम्पन्न भएसँगै नेपाली समुदाय अहिले महान् चाड बडादशैँको तयारीमा जुट्न थालेका छन्। दशैँ सुरु हुन अब मात्र २६ दिन बाँकी छ।

यस वर्ष असोज ६ गते (सेप्टेम्बर २२) घटस्थापनाबाट दशैँ प्रारम्भ हुनेछ। हिन्दु संस्कारअनुसार सोह्रश्राद्धपछि दशैँ सुरु हुने मान्यता छ, जुन अबको १२ दिनपछि सुरु हुँदैछ। पितृलाई सम्झने संस्कार सम्पन्न भएपछि मात्र दशैँको औपचारिक सुरुवात हुने परम्परा छ।

दशैँको मुख्य दिन फूलपाती असोज १३ गते (न्यूजिल्याण्डमा सेप्टेम्बर २९) पर्दछ। त्यसपछिल्लो दिन असोज १४ गते (सेप्टेम्बर ३०) महाअष्टमी, असोज १५ गते (अक्टोबर १) महानवमी र असोज १६ गते (अक्टोबर २) विजया दशमीको टीका हुनेछ। कतिपय ठाउँमा दशैँ असोज २० गते (अक्टोबर ६) को पूर्णिमासम्म मनाउने परम्परा पनि छ। नेपालमा दशैँका लागि असोज १३ गते फूलपातीदेखि असोज १८ गते द्वादशीसम्म सरकारी बिदा रहनेछ।

दशैँ नजिकिएसँगै नेपालका सहरबजारमा चहलपहल बढ्न थालेको छ। गाउँ फर्किने यात्रुका लागि लामो दुरीका गाडीका टिकट पनि चाँडै खुल्ने तयारी भइरहेको छ। रोजगारी वा पढाइका लागि शहर पसेका नेपाली दशैँमा गाउँ फर्केर परिवारसँग खुसी बाँड्ने तयारीमा छन्। त्यस्तै, न्यूजिल्याण्डसहित विदेशमा बसोबास गर्ने नेपालीले पनि अहिलेबाटै छुट्टी मिलाएर यो वर्षको दशैँ विशेष बनाउन योजना बनाउन थालेका छन्।