लिपुलेक नेपालको भूमि भएको भन्दै चीन र भारतबीच भएको सहमतिबारे प्रधानमन्त्रीको आपत्ति  – New Zealand News Nepal (NZ News Nepal)

लिपुलेक नेपालको भूमि भएको भन्दै चीन र भारतबीच भएको सहमतिबारे प्रधानमन्त्रीको आपत्ति 

   August 31, 2025  

चीनका राष्ट्रपति सी चीनफिडसँगको द्विपक्षीय भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबारे विषय उठाएका छन्।

भेटमा सँगै रहेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिबारे ओलीले स्पष्टरुपमा आपत्ति जनाएका छन्।

त्यस्तै भेटका अवसरमा दुई देशबीचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको उनको भनाइ छ।

भेटमा ओलीले सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट रहेको र यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ विश्वास रहेको बताएको सचिव राईको भनाइ छ।

प्रधानमन्त्रीको सचिवालयले भनेको छः
चीनका राष्ट्रपति सी चीनफिङसँग सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ। उक्त अवसरमा सन् १८१६ को सुगौली सन्धि बमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालको भएकोले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने गरी चीन र भारतबीच भएको सहमतिका विषयमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले राष्ट्रपति सीसँग स्पष्टरुपमा आपत्ति रहेको कुरा ब्यक्त गर्दै यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने समेत विश्वास लिएको कुरा बताउनु भयो।