न्यूजील्याण्डकी रक्षा मन्त्री जुडिथ कोलिन्स ‘सुटुक्क’ पुगिन् युक्रेन – New Zealand News Nepal (NZ News Nepal)

न्यूजील्याण्डकी रक्षा मन्त्री जुडिथ कोलिन्स ‘सुटुक्क’ पुगिन् युक्रेन

   September 5, 2025  

न्यूजील्याण्डकी रक्षा मन्त्री जुडिथ कोलिन्स युक्रेनको राजधानी किभमा गोप्य रूपमा पुगेकी छन्।

कोलिन्सले न्यूजील्याण्डका प्रमुख रक्षा बल (Chief of Defence Force) एयर मार्शल टोनी डेभिससँगै युद्धग्रस्त देशको यो गोप्य भ्रमण गरेकी हुन्। सुरक्षाका कारण उनको यात्रा गोप्य राखिएको थियो र उनी युक्रेन छाडिसकेपछि मात्र बिहीबार दिउँसो सार्वजनिक गरिएको हो।

पोल्यान्ड भ्रमणमा रहेकी कोलिन्सले बुधबार बिहान सबेरै रेलमार्फत किभ प्रवेश गरेकी र सोही दिन राति पुनः रेलमार्फत फर्किएकी थिइन्।

कोलिन्सले युद्धग्रस्त युक्रेनको राजधानी किभको अवलोकन भ्रमणपछि आफूले “साना राष्ट्रले पनि ठूलो काम गर्न सक्छ” भन्ने कुरा प्रत्यक्ष देखेको बताएकी छन्।

भ्रमणको क्रममा कोलिन्सले रुसी मिसाइल आक्रमणले ध्वस्त बनाएको आवासीय भवन र युक्रेनी सैनिक तथा नागरिकहरूलाई सम्झना गर्ने मिकाइलिभ्स्का स्क्वायरमा रहेको स्मारक पर्खाल पनि अवलोकन गरिन्। सो आक्रमणमा गत जुन महिनामा २३ जनाको मृत्यु भएको थियो, जसमा बालबालिकासमेत थिए।

कोलिन्सले युक्रेनका रक्षा मन्त्री डेनीस श्मिहाल, उप-रक्षा मन्त्री ओलेक्जेन्द्र कोजेन्को, परराष्ट्र मन्त्री आन्द्रिई सिबिहा लगायत सैन्य अधिकारीहरूसँग भेटवार्ता गरिन्।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्की विदेश भ्रमणमा रहेकाले राष्ट्रपतिसँग कोलिन्सको भेट हुन सकेन ।

पोल्यान्ड भ्रमण सकेपछि कोलिन्स बेलायत जाने कार्यक्रम रहेको छ, जहाँ उनले रक्षा तथा सुरक्षा केन्द्रित बैठकहरूमा सहभागिता जनाउनेछिन्। बेलायतमा एक हप्ता बसेपछि उनी सेप्टेम्बर १३ मा न्यूज़ील्याण्ड फर्कने कार्यक्रम रहेको छ।