जेन जी आन्दोलन : १९ जनाको मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकले दिए राजीनामा – New Zealand News Nepal (NZ News Nepal)

जेन जी आन्दोलन : १९ जनाको मृत्यु, ४२२ घाइते, गृहमन्त्री लेखकले दिए राजीनामा

   September 9, 2025  

काठमाडौं । समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध Generation Z (जेन–जी) ले गरेको आन्दोलनमा सरकारी दमन हुँदा सोमबार देशभर कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ४२२ जना घाइते भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको विवरण संकलन गर्दा मृतकको संख्या १९ पुगेको पुष्टि भएको हो। काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, काठमाडौं बाहिर सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएको छ।

आन्दोलन हिंसात्मक बन्दा काठमाडौंसहित विभिन्न शहरमा ठूलो संख्यामा सर्वसाधारण घाइते भएका छन्। मन्त्रालयले ४२२ जना घाइते विभिन्न अस्पतालमा उपचाररत रहेको जनाएको छ।

यसबीच, गृहमन्त्री रमेश लेखकले घटनाको राजनीतिक जिम्मेवारी लिँदै सोमबार साँझ पदबाट राजीनामा दिएका छन्। मन्त्री लेखकले मन्त्रिपरिषद् बैठकमै आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको एक मन्त्रीले पुष्टि गरेका छन्। पार्टी बैठकमा समेत उनले आन्दोलनका कारण उत्पन्न परिस्थितिमा गृह मन्त्रालयको नेतृत्वमा बसिरहनु उपयुक्त नहुने भन्दै राजीनामा दिने निर्णय सुनाएका थिए।

राजधानीमा दिनभर चलेको प्रदर्शन हिंसात्मक बनेपछि देशभर त्रासको वातावरण सिर्जना भएको छ। सुरक्षाकर्मी र आन्दोलनकारीबीच ठोक्किँदा अझै थप मानवीय क्षति हुन सक्ने आशंका गरिएको छ।