काठमाडौं । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालसँगको समन्वयमा तयार पारेको तथ्यांकअनुसार १९ जनाको मृत्यु भएको हो ।
मृतकको सख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । गोली लागेर घाइते भएकाहरूको बानेश्वरस्थित सिभिल अस्पताल, ट्रमा सेन्टर, एभरेष्ट अस्पताल, सिनामंगल मेडिकल कलेज र त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । ४०० भन्दा बढी घाइते छन् । प्रहरी अधिकारीका अनुसार, अझै २२ जनाको अवस्था चिन्ताजनक छ । उनीहरूको कम्मरमाथि गोली लागेको छ ।
कसरी मच्चियो एकाएक रक्तपात ?
सरकारले फेसबुकलगायत २६ सामाजिक सञ्जाल भदौ १९ मा बन्द गर्ने निर्णय गर्यो । सोही निर्णयअनुसार सन् १९९७ देखि २०१२ सम्म जन्मिएका ‘जेनजी पुस्ता’ सरकारविरुद्ध विभिन्न माध्यमबाट आक्रोशित थिए । सरकारको सोही निर्णयविरुद्ध सोमबार जेनजी पुस्ताले प्रदर्शनका लागि माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्ने निर्णय गरेका थिए ।
प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आइतबार अनुमति समेत लिए । विभिन्न स्कुल तथा कलेजका पोसाकमै प्रदर्शनमा उत्रिएका जेनजी सोमबार बिहान ९ बजेदेखि नै माइतीघरमा जम्मा हुन थालेका थिए । यसरी जम्मा भएका जेनजी विभिन्न समूहका बानेश्वरतर्फ अघि बढे । सुरुआतदेखि नै सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजीमा लागेका ‘जेनजी पुस्ता’ले बानेश्वरको निषेधित क्षेत्र तोडे ।
प्रहरीले सुरक्षाका लागि लगाएको ब्यारिकेटसमेत तोडे । १२ बजेसम्म प्रर्दशन केही अराजक बन्दै गए पनि सुरक्षाकर्मीको टोलीले बल प्रयोग गरेको थिएन । तर, प्रर्दशनमा उत्रिएका ‘जेनजी पुस्ता’ले एकाएक बानेश्वरस्थित संसद् भवनको नम्बर–२ गेटमा आगजनी गरे ।
त्यसरी नै पूर्वीगेटमा प्रर्दशनकारीले आगजनी गरे । केही प्रर्दशनकारी दिउँसो १२ बजेर ३० मिनेटमा संघीय संसद् भवन प्रवेश गरे । जेनजी पुस्ताले एउटा एम्बुलेन्स नै जलाए । साढे १२ बजेदेखि भने प्रहरीको टोली ‘जेनजी’माथि दमनमा मात्रै उत्रिएन, अन्दाधुन्दा गोली नै प्रहार गरेर बर्बरता मच्चायो ।
केही सुरक्षा अधिकारीका अनुसार, प्रहरी र सशस्त्र प्रहरी बलले सयौँको सख्यामा घातक गोली चलाएको छ । काठमाडौंबाट देशभर नै जेनजीको प्रर्दशन उग्र रूपमा छ । सुरक्षा निकायले जेनजी पुस्ताको प्रर्दशनबारे सही विश्लेषण गर्न नसक्दा सुरक्षा रणनीतिमा चुकेको देखिएको छ ।
प्रहरी प्रधान कार्यालयले प्रहरीको तर्फबाट कहाँ कसरी चुक्यो भन्नेबारे आन्तरिक समीक्षामा रहेको जनाएको छ । अहिले जिल्ला प्रशासन कार्यालयले विभिन्न क्षेत्रमा कर्फ्युको आदेश जारी गरेको छ । तर, प्रदर्शन अझै निरन्तर छ ।


