ओलीको घमण्डले ‘खरानी’ भयो देश, ठूलो मानवीय र भौतिक क्षति – New Zealand News Nepal (NZ News Nepal)

ओलीको घमण्डले ‘खरानी’ भयो देश, ठूलो मानवीय र भौतिक क्षति

   September 10, 2025  

शासन सम्हाल्ने एक व्यक्तिको दम्भ र अहंकारकै कारण कुनै राष्ट्र कसरी विनाशतर्फ जान सक्छ भन्ने कुरा अहिलेको पुस्ताले इतिहास पढेर मात्र होइन, आफ्नै आँखै अगाडि देखिरहेको छ। भदौ २३ र २४ दुई दिनमै नेपालका सम्पूर्ण शासकीय संरचना ढली शून्यमा परिणत भएका छन्—सबै खरानी बनेका छन्।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालयदेखि लिएर सरकारी अभिलेखसम्म ध्वस्त भएका छन्। नेपाली समाजले कहिल्यै नदेखेको विभत्स घटना घटेको छ, जसले देशलाई स्तब्ध बनाएको छ।

प्रदर्शनकारीहरूले सरकारी भवन, नेताका निवास, विवादास्पद व्यापारीका सम्पत्ति, पार्टी कार्यालय र मिडिया हाउसहरूमा समेत आगजनी गरे। नेताहरूमाथि भौतिक आक्रमण भयो, जुन यसअघि कहिल्यै भएको थिएन। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमविरुद्ध सडकमा उत्रिएका युवाहरूले भ्रष्टाचार र अव्यवस्थाबारे प्रश्न उठाएका थिए। तर सरकारले दमन गरेपछि सोमबार मात्र १९ जनाको मृत्यु भयो, हालसम्म मृतक संख्या २४ पुगेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन अस्वीकार गरी अहंकारपूर्वक पदमा अडिग रहेपछि मंगलबार बिहानैदेखि अवस्था नियन्त्रण बाहिर गयो। आन्दोलनकारीहरूले नेताका घर र सम्पत्तिलाई निशाना बनाउन थाले। यसले राष्ट्रलाई अपूरणीय क्षति पुर्‍यायो। सुरक्षाकर्मीहरू पनि आन्दोलनकारीलाई रोक्न नसकेर पछि हटे। नेपाली सेना समेत खटिए पनि उनीहरूले पनि प्रतिरोध गरेनन्।

आगो निभाउन दमकल र घाइते उठाउन एम्बुलेन्स उपलब्ध भएनन्। राजधानीका अस्पतालहरू घाइते र विरामीले भरिए। निजामती अस्पतालले सोमबार नै अन्य अस्पताललाई मानवीय र चिकित्सकीय सहयोगका लागि आह्वान गर्नुपरेको थियो।

काठमाडौं मात्र होइन, देशभर सरकारी संरचना, पार्टी कार्यालय र नेताका घर आक्रमणको लक्ष्य बने। सिंहदरबार पूर्ण रूपमा ध्वस्त भयो। प्रधानमन्त्रीको बालुवाटारस्थित निवासमा आगजनी भएपछि उनलाई सेनाले सुरक्षित स्थानमा लग्यो। राष्ट्रपति कार्यालय शीतल निवास आन्दोलनकारीको कब्जामा परेर ध्वस्त भयो, राष्ट्रपति समेत भाग्न बाध्य भए।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु देउवा आफ्नै निवासमा भौतिक आक्रमणमा परे। रगताम्य अवस्थामा उनीहरूलाई सुरक्षाकर्मीले पर्खाल तरेर बाहिर निकाले। पूर्वप्रधानमन्त्री प्रचण्डको खुमलटार निवासमा तोडफोड र चितवनको घरमा आगजनी भयो।

कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादी दलका नेताहरू मुख्य निशाना बने। गगन थापा, मोहन बस्नेतदेखि झलनाथ खनालसम्मका घरमा आगजनी भयो। खनालको निवासमा आगलागी हुँदा उनकी पत्नी रविलक्ष्मी चित्रकार जलेर घाइते भइन्।

आन्दोलनकारीले भौतिक संरचनामात्र होइन, विमानस्थल र धार्मिक स्थलसम्म आक्रमण गरे। भैरहवा विमानस्थलमा आगजनी भयो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रह्यो। बारम्बार प्रवेश गर्ने प्रयास पनि भयो।

सर्वोच्च अदालत, महान्यायाधिवक्ता कार्यालय, बार एसोसिएसन, विशेष अदालत र जिल्ला अदालतहरूमा आक्रमण हुँदा सम्पूर्ण अभिलेख नष्ट भए। संसद भवन कब्जा गरेर तोडफोड तथा आगजनी भयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत आक्रमण भयो।

प्रहरी कार्यालय, बिट र जेलहरूमा समेत आगजनी हुँदा नख्खु, कैलाली, महोत्तरी, तनहुँ, पोखरा लगायतका स्थानबाट कैदीहरू भागे। कानुनी शासन पूर्ण रूपमा ठप्प भयो।

लुटपाट र आगजनीले समाजमा आतंक फैलिएको छ। २०४६ र २०६२/०६३ को आन्दोलनका बेला टोलटोलमा बनेका सुरक्षा समितिले यस्तो अवस्था आउन दिँदैनथे, तर अहिले त्यस्तो संरचना कतै छैन। त्यसैले यसपटकको क्षति अभूतपूर्व र भयावह बनेको छ।