नेपालमा सरकारले गरेको युवा तथा विद्यार्थीहरूको हत्याको विरोधमा न्यूजील्याण्डमा बसोबास गर्ने नेपाली समुदायले श्रद्धाञ्जली सभा तथा विरोध कार्यक्रम आयोजना गरेको छ।
मंगलवार साँझ थुप्रै नेपालीहरूले हातहातमा मैनबत्ती लिएर विभिन्न पार्क र सार्वजनिक स्थानमा जम्मा भएर जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरूको स्मरण गरेका थिए। यस कार्यक्रममा अकल्याण्ड, नेल्सन, ह्यामिल्टन, क्विन्सटाउन, पामरस्टन नर्थ, पापामोआ लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले स्वतःस्फूर्त रूपमा भाग लिएका थिए।
सांस्कृतिक र शान्तिपूर्ण कार्यक्रमका सहभागीहरूले आन्दोलन नियन्त्रणको नाममा भएको दमन र निहत्था युवाहरूको हत्याको कडा आलोचना गरेका छन्। साथै, उनीहरूले मृतकहरूको आत्माको शान्ति तथा नेपालमा स्थायी शान्तिको कामना पनि गरेका छन्।
कार्यक्रममा सहभागीहरूले अब बन्ने सरकारले यस प्रकारका हिंसामा संलग्न सबै व्यक्तिहरूलाई अधिकतम सजाय दिनुपर्ने मागसमेत उठाएका छन्।


