आगामी स्थानीय निर्वाचनका लागि मतपत्रहरू दर्ता भएका मतदाताहरूलाई पठाइने कार्य सुरु भइसकेको छ। गत मंगलबारदेखि सुरु गरिएको मतपत्र वितरण सेप्टेम्बर २२ सम्म चल्नेछ।
मतदाता आफ्नो पत्रपेटीमा (लेटरबक्समा) मतपत्र पुगेपछि तुरुन्तै भरी पठाउन सक्नेछन्। हुलाकमार्फत मतदान पठाउने अन्तिम मिति अक्टोबर ७ तोकिएको छ।
अक्टोबर ७ पछि मतपत्र हुलाकमार्फत पठाउन नपाइने भएकाले उक्त मितिपछि मतदान गर्न चाहनेहरूले अक्टोबर ११ दिउँसो १२ बजेसम्म आफ्नो स्थानीय परिषदको मतदान बक्स (council ballot box) मा गएर मतपत्र बुझाउनुपर्नेछ।
न्युजील्याण्डमा स्थानीय तहको निर्वाचन हरेक तीन वर्षमा आयोजना गरिन्छ। यस अन्तर्गत क्षेत्रीय परिषद (regional councils), सहर परिषद (city councils) र जिल्ला परिषद (district councils) का लागि प्रतिनिधि चुन्न सकिन्छ।
मतदाताहरूले आफ्नो मेयर (Mayor) समेत छान्ने अवसर पाउँछन्। साथै, केही क्षेत्रमा स्थानीय र सामुदायिक बोर्डहरू (local and community boards) का सदस्यहरू पनि मतदाताहरूले नै चयन गर्ने व्यवस्था छ।
निर्वाचन आयोगले सबै योग्य मतदातालाई आफ्नो मतदान अधिकार प्रयोग गर्न आग्रह गरेको छ।


