प्रसिद्ध गायिका लता मंगेशकरको निधन – New Zealand News Nepal (NZ News Nepal)

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

   February 7, 2022  

बलिउडकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मंगेशकरको आज बिहान मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको हो । कोरोना संक्रमण भएपछि उनलाई गएको जनवरी ८ तारिखमा अस्पताल भर्ना गरिएको थियो । संक्रमण पश्चात निमोनिया देखिएपछि अवस्था गम्भीर बनेपछि उनको आइसियूमा उपचार भइरहेको थियो । मंगेशकरले विभिन्न भाषाका २५ हजारभन्दा बढी गीत गाएकी छिन् । उनले धेरै नेपाली गीतमा पनि स्वर दिएकी छिन् । मंगेशकर भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फाल्के अवार्ड लगायतका विशिष्ट अवार्डबाट विभूषित थिइन् । उनको आजै साँझ अन्तिम संस्कार गरिने भारतीय सञ्चारमाध्यमले जनाए छन् । त्यस्तै उनको निधनमा दुई दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगेशकरको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।