प्रधानमन्त्री सुशीला कार्कीको पहिलो निर्णय: प्रतिनिधि सभा विघटन‍ – New Zealand News Nepal (NZ News Nepal)

प्रधानमन्त्री सुशीला कार्कीको पहिलो निर्णय: प्रतिनिधि सभा विघटन‍

   September 13, 2025  

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को पहिलो निर्णयमा नै संसद् (प्रतिनिधि सभा) विघटन गरेकी छन्।

शुक्रबार राति पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि शीतलनिवासमै बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट जेनजीले उठाएको संसद् विघटनको माग कार्कीले सम्बोधन गरेकी हुन्। 

कार्कीको अन्तरिम मन्त्रिपरिषदमा अन्य सदस्य नियुक्त नभएकाले उनी एक्लैको बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो। 

उनले संसद् विघटनको सिफारिस आफूले गरेको र राष्ट्रपतिले त्यसलाई स्वीकार गरेको  जानकारी दिइन्। 

‘भर्खरै आएका छौँ। अब भोलि-पर्सि बसेर सल्लाह गरेर मन्त्रिमण्डल विस्तार गर्छौँ। ३-४ दिनको मेहनतबाट आफूले भनेजस्तो भएको हो,’ नवनियुक्त प्रधानमन्त्री कार्कीले भनिन्, ‘सदन विघटन भइसक्यो। विघटन भनेर राष्ट्रपतिले हस्ताक्षर गरिसक्नुभएको छ। मैले सिफारिस गरेँ, उहाँले स्वीकार गरी हस्ताक्षर गर्नुभयो।’