न्युजील्याण्डमा ‘माओरी’ भाषा सप्ताह: ५०औँ वार्षिकोत्सव मनाइँदै – New Zealand News Nepal (NZ News Nepal)

न्युजील्याण्डमा ‘माओरी’ भाषा सप्ताह: ५०औँ वार्षिकोत्सव मनाइँदै

   September 15, 2025  

न्युजील्याण्डभर २०२५ को Te Wiki o te Reo Māori (माओरी भाषा सप्ताह) आइतबार १४ सेप्टेम्बरदेखि शनिबार २० सेप्टेम्बरसम्म मनाइँदै छ। यस वर्ष यो अभियानको ५०औँ वार्षिकोत्सव हो । यसपटकको नारा “Ake ake ake – A forever language” (सधैँको लागि भाषा) रहेको छ।

माओरी भाषा सप्ताहको सुरुवात १४ सेप्टेम्बर १९७२ मा दर्ता गरिएको माओरी भाषा याचिकाबाट भएको हो। ३० हजारभन्दा बढी हस्ताक्षर संकलन गरिएको उक्त याचिका Ngā Tamatoa, Te Reo Māori Society र अन्य समर्थकहरूले संसदमा पेश गरेका थिए। यसले विद्यालयमा माओरी भाषा पढाइने माग गर्दै, तीव्र गतिमा घट्दै गएको भाषालाई पुनर्जीवित गर्न उत्प्रेरणा दिएको थियो।

१९७५ मा न्युजील्याण्डले पहिलोपटक १४ सेप्टेम्बरलाई “माओरी भाषा दिवस”का रूपमा मनायो, जसले जनचेतना बढायो तर दीर्घकालीन कदमको आवश्यकता पनि उजागर गर्‍यो।

माओरी भाषा ऐन १९८७ पछि माओरी भाषा दिवसलाई विस्तार गरी एक हप्ताभरको “Te Wiki o te Reo Māori” बनाइयो। यसले भाषाको निरन्तर प्रवर्द्धन, अध्ययन र प्रयोगको आवश्यकता औपचारिकरूपमा स्वीकार गरेको देखायो।

५०औँ वार्षिकोत्सवको अवसरमा राजधानी वेलिङ्टनमा करिब ३ हजार जना सहभागी भई हिकुई (परेड) निकालेर भाषा दिवस मनाइएको छ। सोमबार वेलिङ्टनको वॉटरफ्रन्ट हुँदै निस्किएको उक्त परेडमा क्षेत्रका कुराकोहाङ्गाका विद्यार्थीहरूले आफ्नै पोस्टर र ब्यानर बनाइ नारा जुलुस गरेका थिए र शहरभर वाइआता (गीत) गाएका थिए।