न्यूजील्याण्डको अर्थतन्त्र २०२५ को दोस्रो त्रैमासिकमा ०.९ प्रतिशतले घटेको स्ट्याट्स एनजेडले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा जनाइएको छ। यसअघि मार्चको त्रैमासिकमा अर्थतन्त्र ०.९ प्रतिशतले बढेको थियो।
स्ट्याट्स एनजेडका अनुसार जुन त्रैमासिकमा तीन प्रमुख उद्योग समूहमध्ये दुईमा गिरावट देखिएको छ। वस्तु उत्पादन उद्योग २.३ प्रतिशतले घटेको छ भने प्राथमिक उद्योग ०.७ प्रतिशतले घटेको छ। सेवाक्षेत्र भने स्थिर रहेको छ।
आर्थिक वृद्धि प्रवक्ता जासन एटेवलका अनुसार “२०२५ को जुन त्रैमासिकमा आर्थिक गतिविधि ०.९ प्रतिशतले घट्नु व्यापक प्रकृतिको हो। १६ मध्ये १० वटा उद्योगमा गिरावट आएको छ,” उनले भने।
उनका अनुसार पछिल्ला पाँच त्रैमासिकमध्ये तीनमा देशको जीडीपी घटिसकेको छ, जसले न्यूजील्याण्डको आर्थिक गतिविधि कमजोर भएको स्पष्ट देखाउँछ।


