संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ आज देशभित्र र विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ विभिन्न कार्यक्रम गरी मनाइरहेका छन्। सरकारले यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ।
संविधान दिवसको उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विविध कार्यक्रम आयोजना गर्दैछन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले समेत संविधान दिवसका विशेष कार्यक्रम गरिरहेका छन्।
नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिको रूपमा संविधानसभा मार्फत् वि.सं. २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको हो। पैँतिस भाग, ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध यस संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षताजस्ता प्रावधानलाई आत्मसात गर्दै लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रहँदै समृद्ध राष्ट्र निर्माणको अठोट प्रकट गरेको छ।
यस दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाइँदै आएको छ। ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ।