न्यूजील्याण्डको अर्थतन्त्र फेरि संकुचित भएको तथ्याङ्क सार्वजनिक भएपछि सरकारमाथि चर्को आलोचना भइरहेको छ । पूर्व अर्थमन्त्रीहरूले अर्थमन्त्री निकोला विलिसको राजीनामा मागिरहेका बेला Labour पार्टीका नेता तथा विपक्षी नेता क्रिस हिप्किन्सले भने अर्थमन्त्रीको राजीनामामा प्रत्यक्ष रूपमा नजाने तर “पूरै सरकारलाई नै जानेबेला आएको” टिप्पणी गरेका छन् ।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै हिप्किन्सले भने, “सरकारको आर्थिक योजना काम गरिरहेको छैन । अवस्था झन् खराब हुँदै गइरहेको छ, र तिनीहरू दोष अरूलाई लगाइरहेका छन् । निकोला विलिसले त झन् अवस्था बिगारेकी छिन्।”
तर बारम्बार सोध्दा पनि उनले अर्थमन्त्रीलाई तत्काल राजीनामा दिनुपर्ने कुरा नदोहोर्याई आगामी चुनावमा ‘पूरै सरकारलाई नै हटाउने बेला आएको’ मात्र दोहोर्याए।
यसअघि पूर्वअर्थमन्त्री रोजर डगलसले पनि अर्थमन्त्री विलिसको राजीनामा र सरकारी खर्च कटौतीको माग गरेका थिए।


