संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री विन्स्टन पीटर्स आज न्युयोर्क जाँदै – New Zealand News Nepal (NZ News Nepal)

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री विन्स्टन पीटर्स आज न्युयोर्क जाँदै

   September 21, 2025  

न्यूजिल्याण्डका परराष्ट्रमन्त्री विन्स्टन पीटर्स संयुक्त राष्ट्रसंघको ८०औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्रसंघको स्थापनाको ८०औँ वार्षिकोत्सवको अवसर समेत पारेर उनी अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन्। उनी १० दिन अमेरिका बसेर सेप्टेम्बर ३० मा न्यूजिल्याण्ड फर्कने कार्यक्रम छ।

न्युयोर्कमा रहँदा परराष्ट्रमन्त्री पीटर्सले फ्रान्स र साउदी अरेबियाले सहअध्यक्षता गरेको “दुई राष्ट्र समाधान” सम्बन्धी सम्मेलनमा सहभागी हुनेछन्। साथै, उनले विभिन्न विषयगत र भौगोलिक कार्यक्रमहरूमा भाग लिने, विभिन्न देशका विदेशमन्त्री तथा संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने र महासभामा न्यूजिल्याण्डको राष्ट्रिय वक्तव्य प्रस्तुत गर्ने योजना छ।

परराष्ट्र मन्त्रालयका अनुसार, युक्रेन, गाजामा जारी द्वन्द्व, दक्षिण सुडान र म्यानमारजस्ता ठूला द्वन्द्वबीच विश्व नेताहरू न्युयोर्कमा भेला हुँदैछन्। परराष्ट्रमन्त्री पीटर्सले पलेस्टाइनको मान्यतासम्बन्धी जटिल विषयलाई पनि सावधानीपूर्वक र व्यवस्थित रूपमा अध्ययन गर्दै आएको उल्लेख गर्दै आगामी वार्ताहरूले यसबारेमा न्यूजिल्याण्डको अन्तिम धारणा बनाउन मद्दत गर्ने बताएका छन्।