न्यूजिल्याण्डका वरिष्ठ व्यवसायीहरूमाझ गरिएको सर्वेक्षणमा प्रधानमन्त्री क्रिष्टोफर लक्जन क्याबिनेटको १५औँ स्थानमा परेका छन्। उनीसँगै अर्थमन्त्री निकोला विलिस पनि शीर्ष १० प्रदर्शनकर्ताको सूचीमा पर्न सकेनन्।
न्यूजिल्याण्ड हेराल्डले हालै सार्वजनिक गरेको मुड अफ द बोर्डरुम सर्वेक्षणमा १५० जना प्रमुख कार्यकारी र अन्य व्यवसायिक नेताहरूले सहभागिता जनाएका थिए। परिणामअनुसार, लक्जनले ५ मध्ये औसत २.९६ अंक प्राप्त गरेका छन्, जहाँ १ “प्रभावकारी छैन” र ५ “अत्यन्त प्रभावकारी” मानिन्छ।
हेराल्डकी व्यावसायिक प्रमुख फ्रान ओ’सुलिभनले मर्निङ रिपोर्ट मा भनिन्, “मानिसहरूको आत्मविश्वास फेरि बढ्न थालेको छ तर सबै क्षेत्रमा होइन। केही क्षेत्रहरू समृद्ध भइरहेका छन् भने केही क्षेत्रहरू समस्यामा छन्।”
उनले थपिन्, “विशेषगरी ऊर्जा समस्याबाट प्रभावित भएका कम्पनीहरूलाई अर्थतन्त्रमा थप सहयोगको आवश्यकता छ कि छैन भन्ने प्रश्न उठेको छ।”
सर्वेक्षणमा सहभागी प्रमुख कार्यकारीहरूले देशको अर्थतन्त्रमा आफ्नो विश्वासको स्तरलाई ५ मध्ये २.८१ अंक दिएका छन्।


