आजभन्दा ४९ वर्षअघि, अर्थात् १९७६ सेप्टेम्बर २५ को बिहानै, इन्भरकार्गिल प्रहरीलाई एक सर्वसाधारणबाट फोन आयो । उनले एक सडकको कुनामा रहेको स्मिथ एन्ड रेन्सफोर्डको स्पोर्ट्स स्टोरको अगाडिको सिसा फुटाउँदै एक व्यक्ति भित्र पसेको देखेका थिए । सो व्यक्ति भित्र पसिसकेको पुष्टि भएपछि प्रहरीको टोली त्यहाँ पठाइयो ।
चार जना प्रहरी परिचालनमा गएका थिए, जसमा कन्स्टेबल पिटर मर्फी पनि थिए । पहिलोपटक पुगेका एक सार्जेन्ट र एक कन्स्टेबल भित्र पसेर सो व्यक्तिको सामना गर्दा उनी .२२ क्यालिबरको राइफलसहित रहेको पत्ता लाग्यो । तत्कालै उनीहरू बाहिर निस्किए र सबै चार जना प्रहरीहरू सडकपारि बसे ।
पिटर मर्फी र अर्का कन्स्टेबल कङ्क्रिटको प्लान्टरमा थिए । कुनै सूचना वा चेतावनी नदिई बन्दुकधारीले गोली चलाउँदा मर्फीको टाउकोमा लागेको थियो । त्यसपछि पनि उनले गोली चलाउँदै टे स्ट्रीटका दिशातर्फ भागे ।
घटनास्थलमा सशस्त्र अपराधी नियन्त्रण (Armed Offenders Squad), ड्युटीबाहिर रहेका प्रहरी तथा यातायात मन्त्रालयका अधिकारीहरूलाई बोलाइयो । सहरको केन्द्र भागलाई घेराबन्दी गरी व्यापक खोजी सुरु गरियो ।
गम्भीर घाइते पिटर मर्फीलाई तुरुन्तै साउथल्याण्ड अस्पताल पुर्याइयो । बन्दुकधारी पक्राउ परे र सुरुमा हत्या प्रयासको अभियोग लगाइयो । सो दिनै पिटर मर्फीको मृत्यु भएपछि अभियोग हत्या मुद्दामा रूपान्तरण भयो । अपराधीलाई दोषी ठहर गरी आजीवन कारावास सजाय दिइयो, तर १९८६ सेप्टेम्बरमा पैरोलमा रिहा गरिएको थियो
मर्फी (प्रहरी नं. ५०५२) को सेवाकालमै भएको शहादतको आज ४९ औँ वार्षिकी हो। २७ जनवरी १९५५ मा जन्मिएका मर्फी मात्र २१ वर्षको उमेरमा २५ सेप्टेम्बर १९७६ मा हत्या गरिएपछि शहीद बनेका थिए।



