शुक्रबार बिहान सिड्नीबाट आएको क्वान्टासको विमानले ‘मेडे’ कल गरेपछि अकल्याण्ड विमानस्थलमा आपतकालीन सेवाहरू तुरुन्तै परिचालन गरिएको छ।
फायर एन्ड इमर्जेन्सी न्युजिल्याण्डका अनुसार बिहान ११:०५ बजे घटनाको जानकारी पाएको थियो। प्रारम्भिक रिपोर्टअनुसार क्वान्टासको फ्लाइट १४१ मा आगलागी भएको आशंका गरिएको थियो।
अकल्याण्ड क्षेत्रका १६ वटा दमकल गाडीहरू घटनास्थलमा पठाइएका थिए।
क्वान्टासले जारी गरेको वक्तव्यअनुसार बोइङ ७३७ विमानका पाइलटहरूले “कार्गो होल्डमा सम्भावित आगलागीको अनियमित संकेत” पाएका थिए। त्यसपछि उनीहरूले मानक प्रक्रिया अनुसार ‘मेडे’ कल गर्दै सम्बन्धित निकायलाई जानकारी गराएका थिए।
विमानले सुरक्षित अवतरण गरी यात्रुहरूलाई उत्राइयो। आपतकालीन एम्बुलेन्सहरू समेत धावनमार्ग नजिकै तयारी अवस्थामा राखिएका थिए।
“प्रारम्भिक जाँचअनुसार अगाडिको कार्गो होल्डमा कुनै आगलागी नभएको पुष्टि भएको छ,” क्वान्टासले आफ्नो वक्तव्यमा जनाएको छ।
“हाम्रो इन्जिनियरहरूले अब विमानको कारण पत्ता लगाउनेछन्,” वक्तव्यमा भनिएको छ।
दिउँसोतिर अकल्याण्ड विमानस्थलको गतिविधि सामान्य बन्दै गइरहेको भए पनि दिउँसो केही समय प्रस्थान तथा आगमन उडानहरूमा स-साना ढिलाइ हुन सक्ने चेतावनी विमानस्थलले दिएको छ।


